काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । हाल भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाल छिन् ।
चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदै छ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग जिज्ञासा राखेपछि उनले यो अभिब्यक्ति दिएका हुन् ।
प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिए । त्यसका लागि बिहीबार गठबन्धनको बैठक बोलाइएको उनले बताएका छन् ।
‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालेमलबाट गर्ने भन्ने छलफल चलिरहेको छ । भोलि हामी गठबन्धनको बैठक बस्दै छौं,’ प्रचण्डले भने ‘सम्भवतः महानगरको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ ।’
हाल भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाल छिन् ।