उत्तराखण्डः आजबाट उत्तराखण्डस्थित केदारनाथ धाममा विधिवत रुपमा पूजापाठ सुरु गरिएको छ। मंगलबार बिहान ६ बजेर २० मिनेटमा दर्शन र पूजापाठका लागि केदारनाथ धामका द्धारहरु खोलिएका छन्।
धामको द्धार खोलिएको अवसरमा केदारनाथ मन्दिरलाई ३५ क्विन्टल फूलले सजाइएको थियो। उक्त अवसरमा हेलिकप्टरबाट भक्तजनमाथि पुष्पवृष्टि गरिएको थियो। त्यसपछि मन्दिर समितिका पदाधिकारीहरुको उपस्थितिमा प्रशासनले मन्दिरको ढोका खोलेको थियो। ढोका खुल्नेबित्तिकै महादेवको जयकारले धाम गुञ्जिएको थियो।

यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि केदारनाथ मन्दिर पुगेर पूजा गरेका थिए। ढोका खुलेसँगै केदारनाथ धाममा आजदेखि हेली सेवा सञ्चालन भएको छ। केदारनाथ हेली सेवाको बुकिङ वैशाख ७ गते सकिएको थियो।
दोस्रो चरणको यात्राको लागि टिकट बुकिङको समय चाँडै तय गरिने बताइएको छ।


Facebook Comments Box