जुम्ला- यार्सा टिप्न पाटन गएका जुम्लाका ३ जना हिम पहिरोमा पुरिएर बेपत्ता भएपछि हेलिकोप्टरबाट उद्धार टोली घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहोनबहादुर थापाले घटनास्थलमा २१ जनाको उद्धार टोली त्यहाँ पुगेको जानकारी दिए । प्रजिअ थापाका अनुसार मंगलबार त्यहाँ उद्धार टोली पुगेपनि अत्याधिक हिउ जमेकाले पुरिएका मानिसहरु भेटिएका छैनन् ।
सोमबार विहान हेलिकोप्टरमार्फत गएको टोली सिरानचौरमा उतारिएको थियो । टोली हिडेर एक दिन लगाएर छापाखोलामा बसेको थियो ।
छापाखोलाबाट विहान ६ बजे आज घटनास्थल च्यार्खु लेकमा पुगेर खोजीकार्य गरेपनि हिउँ धेरै भएकाले आज खोज्न नसकी फिर्ता भएको छ ।
हिम पहिरोमा जोगिएर मुगु जिल्ला प्रहरी कार्यालयको सम्पर्क आएका मध्य कर्ण सार्की सहितलाई लिएर हेलिकोप्टर घटनास्थलमा गएको थियो । हिम पहिरोमा परेका अन्य ९ जना जना घर फर्किएका छन् ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले उद्धार टोलीले खोजीरहे पनि हिम पहिरोमा पुरिएका व्यक्ति पत्ता नलाग्दा सकस भएको बताए । घटना स्थलमा हिमपात भईरहेकाले पुन वास वस्न टोली छापाखोला फर्किएको र भोली फेरि घटनास्थलमा जाने उनको भनाइ छ ।
मुगु र डोल्पाको सिमामा रहेको पाटन च्यार्खु लेखमा पातारासी २ तल्फि गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की र ३६ वर्षका वीर बोहरा हिम पहिरोमा परी बेपत्ता भएका छन् ।