कञ्चनपुरः भारतका विभिन्न सहरमा लुटिने नेपाली श्रमिकको संख्या बढ्दो छ। चाडपर्वको समयमा घर फर्किने क्रममा लठ्याउने औषधि दिएर नेपाली श्रमिकलाई भारतीय भुमिमै लुटपाट गर्ने गरिएको छ।
यसैक्रममा भारतको हिमाञ्चलमा मजदुरी गरेर दशैँतिहार मनाउन घर फर्किँदै गरेका कैलालीको घोडाघोडीका रविलाल बराल पनि लुटिएका छन्। उनी भारतको हरिद्वारमा लुटिएका हुन्।
भारतको मैनालीबाट बसको एकै सिटमा बसेर आएका व्यक्तिले नै हरिद्वारको बसपार्कमा विश्राम गरिरहेको बेला लठ्याउने औषधि दिएर लुटेको बरालको भनाइ छ।
करिब ५ महिना काम गरेर दसैं मनाउन घर फर्किरहेका उनको कमाई बाटोमै लुटिएको छ। हिमाञ्चलदेखि घर फर्किने क्रममा हरिद्वारमा लुटिएर अलपत्र परेका बराल बुधबार जेनतेन गड्डाचौकी नाकामा पुगेका थिए।
बुधबार बिहान गड्डाचौकी नाकामा अलपत्र अवस्थामा भेटिएका बराललाई सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने भाडा र बाटो खाना खर्च दिएर पठाएको छ।
नागरिक सहायता कक्षले यसरी लुटिएर अलपत्र परेकाहरुलाई घरसम्म पुग्ने व्यवस्था गर्दै आएको छ। चालु आर्थिक वर्षमा मात्रै भारतका विभिन्न ठाउँमा लुटिएर आएका २३ जनालाई सहयोग गरेको नागरिक सहायता कक्षका नासु दानसिंह बोहोराले बताए।