काठमाडौं: विवादित इन्सपेक्टर बिनुकुमारी शाहीमाथि छानबिन गर्न बनाइएको समितिले छानबिन सकाएको छ। छानबिन सकाएको समितिले कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ। ललितपुरस्थित भैंसेपाटी प्रहरी प्रभागमा इन्चार्ज रहेकी बिनुकुमारी हालै छानबिनमा तानिएकी थिइन्।
त्यस अगाडि पनि कञ्चनपुरमा विवादित बनेकी उनीमाथि छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति बनाइएको थियो। सोही क्रममा उनलाई गृहमन्त्रालयले पनि पदबाट निलम्बन गरेको थियो। उनीमाथि मिलेमतोमा भएको हनि ट्रयापिङ घटनामा सघाएको आरोप छ। सोही आरोपमा छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको हो।डिएसपी नरहरी अधिकारी नेतृत्वको समितिले बुधबार ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई प्रतिवेदन बुझाएको जनाइएको छ।
स्रोतका अनुसार समितिले निलम्बित इन्स्पेक्टर बिनुकुमारीलाई फौजदारी मुद्दा नै चलाउनुपर्ने सिफारिस गरेको छ। प्रहरीकै मिलेमतोमा बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुलिएको छानबिन समितिको औँल्याएको छ। प्रभागमा एक जग्गा व्यापारीलाई थुनामा राखी ३० लाख असुल गरी छाडिएको थियो।
एक युवतीलाई उजुरी हाल्न लगाएर यसरी पूर्व योजनाअनुसार नै पैसा असुलिएको छानबिन समितिको प्रतिवेदन छ। त्यसबापत प्रहरीले समेत लेनदेन गरेको पुष्टि भएको छ। साथै यो घटनामा एक एसपीको समेत शंकास्पद भूमिका देखिएको थियो। ती एसपीमाथि समेत छानबिन हुने सम्भावना रहेको ललितपुर प्रहरी स्रोत बताउँछ।
यस अगाडि नै प्रहरीले हनि ट्रयापिङ गिरोहका नाइके ताज इस्लामसहित उनको समूहका युवतीहरु सुष्मा विक र भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सो समूहले विगतमा पनि प्रहरीकै मिलेमतोमा धेरैलाई फसाइसकेको खुलेको छ।
निलम्बित इन्स्पेक्टर शाहीमाथि समेत आपराधिक लाभ मुद्दा दायर हुने सम्भावना देखिएको छ। यद्यपी उनी कारबाहीबाट जोगिन शक्तिकेन्द्रबाट दबाब दिइरहेकी छन्।
को हुन् ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी ?
शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।
त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो। तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो।
सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो।
र, यो पनि: विवादित इन्सपेक्टर निलम्बित
एसपी थापाले बिगारेकी ‘बदनाम’ इन्सपेक्टर बिनुकुमारी