धनगढी – कैलालीको चुुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले वास्तविक पहिरो पीडितको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
२०७६ को वर्षाका कारण आएको पहिरोले बिस्थापित भएका चार सय १८ परिवार वडा नम्बर ४ को जंगल क्षेत्रमा बसिरहेको भन्दै उनले वास्तविक पीडित पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
सामुदायिक वन र स्थानीय प्रशासनसँगको समन्वयमा अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुलाई यथास्थानमा बस्न दिने सहमती भएपनि अहिले वनले उठाउन खोजेपछि अध्यक्षले वास्तविक पीडितको उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
धनगढीमा पत्रकार सम्मेलन गर्दै बोगटीले कतिपय नक्कली पहिरो पीडित समेत उक्त सूचीमा अटाएको भन्दै त्यसको छानविन गरेर वास्तविक पीडितको पहिचान गर्नुपर्ने बताए ।
वनले अहिले बसिरहेको क्षेत्रबाट उठाएमा वास्तविक पीडितको विचल्ली हुने कुरातर्फ सम्बद्ध निकाय गम्भीर बन्नुपर्ने बताए । यसअघि पीडितहरुको व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालय, संघीय सरकारका विभिन्न निकायमा पटक पटक धाउदा समेत कुनै सुनवाइ नभएको उनको भनाई छ ।
चुरेका पहिरो पीडित परिवारहरु अहिले वडा नम्बर ४ को पनेरुगडा र टाँकगडाको सामुदायिक वन क्षेत्रमा बसोबास गरिरहेका छन् ।