धनुषामा – चुरोट तान्ने विषयमा विवाद हुँदा भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका– ७ बस्ने २४ वर्षीय मो। गुलाम मंसुर भन्ने रवानी मंसुरको आफ्नै साथीहरुबीच चुरोट तान्ने विषयमा विवादमा कुटपिट हुँदा मृत्यु भएको हो । मंगलबार राति मंसुर र उनका साथीहरूबीच जनकपुरधाम उपमहानगरपालिका– २३, लादोबेलास्थित एक घरमा मदिरा सेवनपश्चात चुरोट तान्ने विषयमा विवाद भएको थियो ।
जनकपुरधाम– ७, जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राइन, जनकपुरधाम – ८ बस्ने ३१ वर्षीय राजकुमार साह र धनुषा नगराइन नगरपालिका– २ बस्ने २१ वर्षीय जितेन्द्रकुमार मण्डलबीच चुरोट तान्ने विषयमा विवाद भई कुटाकुट भएको थियो । सोही क्रममा मंसुर घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते मंसुरलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याएर तिवारी फरार भएका थिए ।
बुधबार बिहान १० बजे मंसुरको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । घटनामा ४ जनालाई पक्राउ गरिए पनि प्रहरीले अहिलेसम्म २ जनालाई सार्वजनिक गरेको छ । मृतकसहित ४ जना मंगलबार भारतीय बजार जटहीबाट लागुऔषध सेवन गरी साँझ मात्र जनकपुर आएको अनुसन्धानमा खुलेको उनले बताए । घटनाको थप अनुसन्धान भइहेको उनले बताए ।