काठमाडौं– आगामी वैशाख ३० गते हने स्थानीय तहको निर्वाचनमा गरिने तालमेलबारे मंगलबार पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठकले निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्ने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किसकेपछि तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न बैठक बस्ने भएको हो । बैठकको मिति तय भएपनि समय तय हुन बाँकी रहेको छ ।
गठबन्धन दलबीच १७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय भएको थियो । त्यसयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरु भएको छ । यद्यपि तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।
डा शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै आएको छ । जसले गर्दा माओबादीसहितका दलहरु काँग्रेससंग सन्तुष्ट छैनन् । उता माओबादी केन्द्रका केही नेताहरुले गठबन्धनका लागि एमालेसंग पनि छलफल भइरहेको बताइरहेका छन् ।