काठमाडौँ – तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा छलफल भएको हो ।
माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेका अनुसार बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।
‘निकै सकारात्मक छलफल भएको छ। संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ मुख्य सचेतक पाण्डेले भने, ‘संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। यिनै विषयमा छलफल भयो। संसद सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।’