काठमाडौं: बेतालपुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने एक ट्याङ्कर कम्पनी कारबाहीमा परेको छ । नेपाल आयल निगमले श्री एक्सप्रेस परिवहन सेवा प्रालि रुपन्देहीलाई कारबाही गरेको हो ।
निगमसँग करार सम्झौतापछि सञ्चालनमा रहेको उक्त प्रालिलाई कारबाही गरिएको जनाइएको छ । उक्त प्रालिको लु.२.४८३९ (२० किलोलिटर क्षमता) नम्बरको ट्याङ्करले बिलबिजकभन्दा बढी परिमाणमा पेट्रोल ढुवानी गरेको पाइएपछि भन्सार कार्यालयले ट्रकलाई नियन्त्रणमा लिएको बताइएको छ ।
निगमका अनुसार पेट्रोल चोरी पैठारी कसूरमा कारबाही अगाडि बढाइएको छ । ट्याङ्कर ढुवानीकर्ता र चालकलाई ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ (तेस्रो संशोधनसहित)’ कारबाही गरिएको छ ।
जसअनुसार ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने, २० हजार लिटर पेट्रोलको रकम असुलउपर गरिने र तीन महिना ढुवानी गर्न नपाइने गरी निलम्बन गरिएको जनाइएको छ ।