काठमाडौँ: टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीले आफू अझै न्यायिक पर्खाइमा रहेको बताएका छन् । बुधवार डिल्लीबजार कारागारबाटै विज्ञप्ति जारी गर्दै चौधरीले अझैँ सर्वोच्च न्यायलयप्रति भरोसा रहेको भन्दै न्यायिक पर्खाइमा रहेको बताएका हुन् ।
आफूप्रति न्याय नभए पनि फैसला भने स्वीकार्नुको विकल्प नभएको र सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो भने खुल्लै रहेको उनले बताएका छन् । ’मप्रति न्याय नहुन सक्छ तर, त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न, फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ । मलाई अझै सम्मानित सर्वोच्च न्यायलयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले टिकापुर घटनाको फैसलालाई लिएर जथाभावी सामाजिक सन्जालमा पोष्ट नगर्न आग्रह गरेका छन् । अफू डिल्लीबजार कारागारमा धैर्य र सहनशीलताका साथ कैद भुक्तान गरिरहेको उल्लेख गर्दै उनले आफू स्वस्थ रहेको र रतिभर विचलित नभएको बताएका छन् ।