काठमाडौं: सुदूरपश्चिममा पछिल्लो तीन वर्षयता बलात्कारका घटना व्यापक रुपमा बढेको पाइएको छ। प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा बलात्कारका घटनामा कमी नआएको पाइएको हो।
आर्थिक वर्ष २०७७/७८ मा प्रदेशभर जबरजस्ती करणीका २३० मुद्दा दर्ता भएका छन् भने जबरजस्ती करणी उद्योगमा ८८ मुद्दा दर्ता भएका छन्। त्यस्तै ०७८/७९ मा जबरजस्ती करणीका २३२ र जबरजस्ती करणी उद्योगमा ८८ मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्ष ०७९/८० को चैत मसान्तसम्म जबरजस्ती करणीका १३६ र जबरजस्ती करणी उद्योगमा ४४ मुद्दा दर्ता भएका छन्।
तीन वर्षको अवधिमा जबरजस्ती करणीका ५९८ र जबरजस्ती करणी उद्योगका २२० मुद्दा दर्ता भएका छन्। तथ्याङ्कअनुसार कैलालीमा बलात्कारका सबैभन्दा बढी घटना छन्। पछिल्लो तीन वर्षमा कैलालीमा २८२ करणी र ९८ उद्योगका घटना छन्।
त्यस्तै, कञ्चनपुरमा ११२ करणी र ४३ उद्योगका, बैतडीमा ३१ करणी र ११ उद्योगका, अछाममा २८ करणी र १५ उद्योगका, दार्चुलामा १९ करणी र ३ उद्योगका घटना छन्।
त्यसैगरी बाजुरामा २९ करणी र ८ उद्योगका, डोटीमा ४० करणी र ६ उद्योगका, बझाङमा ३२ करणी र २४ उद्योगका र डडेल्धुरामा २५ करणी र १४ उद्योगका घटना छन्। प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार तीन वर्षको अवधिमा सबैभन्दा कम दार्चुलामा २२ बलात्कार सम्बन्धीका मुद्दा दर्ता भएका छन्।
कैलालीमा २०७७/७८ मा जबरजस्ती करणीका ९९ मुद्दा दर्ता भएकामा ०७८/७९ मा बढेर ११५ मुद्दा दर्ता भएका छन् भने चालु वर्षको चैत मसान्तसम्ममा ६८ मुद्दा दर्ता भएका छन्। जबरजस्ती करणी उद्योगमा पनि क्रमशः ४१, ४२ र १५ मुद्दा दर्ता भएका छन्। त्यस्तै, कञ्चनपुरमा २०७७/७८ मा जबरजस्ती करणीका ५३ मुद्दा दर्ता भएकामा ०७८/७९ मा घटेर ३२ र चालु वर्षको चैत मसान्तसम्म २७ मुद्दा दर्ता भएका छन्। जबरजस्ती करणी उद्योगमा क्रमशः १२, १७ र १४ मुद्दा दर्ता भएका छन्।
बैतडीमा २०७७/७८ मा जबरजस्ती करणीका १७ मुद्दा दर्ता भएकोमा ०७८/७९ मा घटेर यो संख्या ८ पुगेको छ भने चालु वर्षको चैत मसान्तसम्म ६ ओटा मुद्दा दर्ता भएका छन्। जबरजस्ती करणी उद्योगमा २०७७/७८ मा ५ मुद्दा दर्ता भएकामा ०७८/७९ मा एउटा पनि मुद्दा छैन भने चालु वर्षको चैत मसान्तसम्म ६ ओटा मुद्दा दर्ता भएका छन्।
अछाममा २०७७/७८ मा करणीका ८ मुद्दा दर्ता भएकामा ०७८/७९ मा बढेर १३ पुगेको छ भने चालु वर्षमा ७ मुद्दा दर्ता भएका छन्। उद्योगमा २०७७/७८ मा ५ मुद्दा दर्ता भएकामा ०७८/७९ र चालु वर्षको चैत मसान्तसम्म समान ४/४ मुद्दा दर्ता भएका छन्। त्यसैगरी दार्चुलामा २०७७/७८ मा करणीका ५, ०७८/७९ मा ९ र चालु वर्षमा ५ मुद्दा दर्ता भएका छन्। उद्योगमा २०७७/७८ मा २, ०७८/७९ मा १ र चालु वर्षमा एक मुद्दा पनि नपरेको पाइएको छ।
बाजुरामा २०७७/७८ मा करणीका ८ मुद्दा परेकामा ०७८/७९ मा १३ र चालु वर्षमा ८ मुद्दा दर्ता भएका छन्। उद्योगमा क्रमशः ३, ४ र १ मुद्दा दर्ता भएका छन्। डोटीमा २०७७/७८ मा करणीका १४ मुद्दा परेकामा ०७८/७९ मा बढेर २० पुगेको छ भने चालु वर्षमा ६ मुद्दा परेका छन्। त्यस्तै, उद्योगमा क्रमशः २, १ र ३ मुद्दा परेका छन्।
बझाङमा २०७७/७८ मा करणीका ११, ०७८/७९ मा १५ र चालु वर्षमा ६ मुद्दा परेका छन् भने उद्योगमा क्रमशः ११, १२ र १ मुद्दा परेका छन्। बझाङमा चालु वर्षमा जबरजस्ती करणी उद्योगमा भने विगतको तुलनामा निकै कम मुद्दा परेको हो। त्यस्तै, डडेल्धुरामा २०७७/७८ मा जबरजस्ती करणीका १५, ०७८/७९ मा ७ र चालु वर्षको चैत मसान्तसम्म ३ मुद्दा परेका छन्। यहाँ जबरजस्ती करणीका घटना घट्दै गएका देखिएको छ।
त्यस्तै, जबरजस्ती करणी उद्योगमा २०७७/७८ र ०७८/७९ मा समान ७/७ मुद्दा दर्ता भएका छन् भने चालु वर्षको चैत मसान्तसम्म एउटा मुद्दा पनि दर्ता भएको छैन।
कारण के ?
पछिल्लो समय बलात्कारका घटनाहरु बढ्नुमा प्रमुख कारण प्रविधिको दुरुपयोग रहेको प्रहरी अधिकृतहरूको राय छ। केही वर्षयता प्रविधिको दुरुपयोग बढेको र मोबाइल फोनका कारण जबरजस्ती करणीका घटना बढिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिएसपी भरतबहादुर चौधरीले महेन्द्रनगरपोष्टलाई बताए।
यस्तै, उनले सचेतनाको कमी, गरिबीले पनि घटनाहरु बढेको बताए। तर प्रहरीले अहिले प्रमुख कारण भने बढ्दो सामाजिक सञ्जालको प्रयोग, फेसबुक, टिकटकजस्ता माध्यमको दुरुपयोगलाई मानेको छ। यसमा पछिल्लो समय छाडा गतिविधि मौलाएको प्रहरीको बुझाइ छ।