डम्मरदत्त भट्ट, धनगढी: युवा परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्ति हुन् । युवा शक्ति राष्ट्रको एक अमूल्य सम्पत्ति हो। युवा राजनीतिक, आर्थिक , सामाजिक र साँस्कृतिक रुपान्तरणका अग्रदुत हुन् । यूएन र वल्र्ड बैंकले १५-२४ वर्ष उमेर समूहलाइ युवा मानेको छ भने नेपालको हकमा राष्ट्रिय युवा परिषद ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ ले १६-४० को उमेर समूहलाइ युवा निर्धारण गरेको छ। साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको एक प्रमुख धरोहरका रुपमा रहेको हुन्छ। गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सार्वभौम विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरुरी देखिन्छ।
देश र समाजलाइ संस्कार र मर्यादासहित आधुनिक युगमा लम्काउने भनेको युवा वर्ग नै हो। तर देशमा व्याप्त विभेद र कुसंस्कार हटाउन युवाहरु जागृत हुन अझ धेरै बाँकी छ। प्राकृतिक श्रोतको प्रचुरता भए पनि शिक्षित तथा गुणस्तरीय सीप हाँसिल गरेको युवा जनशक्तिको नेतृत्वबिना देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्दैन। देशको कूल जनसंख्याको मुख्य हिस्सा ओगटेको युवा वर्गको समुचित विकास, नेतृत्वदायी भूमिका र सहभागितामै मुलुक एवं जनताको आर्थिक र सामाजिक समुन्नति निर्भर गर्दछ। मुलुकमा लगानिमैत्री वातावरण बनाएर युवाको नेतृत्व, सीप र प्रविधिको प्रयोगका साथै युवाशक्तिलाई समयको गतिसँगै परिचालन गर्न सके देश विकासको लागि कुनै आइतवार कुर्नु नपर्ने देखिन्छ।
आज विश्वको हरेक समृद्ध मुलुकको निर्माणको चरणलाई अध्ययन गर्ने हो भने पनि युवाहरुको नेतृत्व र परिचालनबाट मात्र सम्भव भएको तथ्य जगजाहेर छ। हरेक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने युवाहरु अब देशको राजनीतिक स्थायित्व र समृद्धिको नेतृत्व लिन पनि तयार रहनुपर्छ। युवाबिना देश विकास सम्भव छैन। नेपाल अहिले राजनीतिक स्थायित्वमार्फत दिगो विकासको गतिमा अघि बढ्ने दिशामा छ। देशको जनसंख्याको मुख्य हिस्सा युवालाई विदेश पलायन हुनबाट रोकेर नेपालमा नै सीप र रोजगार दिनुका साथै प्राकृतिक श्रोतको समुचित प्रयोग गर्दै युवालाई उत्पादनशील, अनुसन्धान र नवनिर्माण कार्यमा संलग्न गराउने हो भने मुलुकको समृद्धि धेरै टाढा छैन। सबै तहका नीति तथा योजना निर्माण र कार्यान्वयनका प्रक्रियामा युवाको भूमिका नेतृत्वदायी हुनुपर्छ। सामथ्र्यवान, परिश्रमी, सिर्जनशील, वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा राष्ट्रको सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने गरी युवालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउनुपर्दछ।
नेपालको कुल जनसंख्याको ४० दशमलव ६८ प्रतिशत युवा रहेको छ। युवा विकास सूचकांकमा नेपाल ७७औँ स्थानमा छ। आईएलओ को तथ्यांकअनुसार नेपालमा युवा बेरोजगारी दर १९ दशमलव दुई प्रतिशत रहेको छ। कृषिमा संलग्न युवाहरूको संख्या ५० दशमलव २० प्रतिशत रहेको छ। सुगौली सन्धिभन्दा अघिदेखि नै नेपाली युवा परदेशमा रोजगारीको लागि जाने गरेकोमा अहिले ५० देखि ६० लाख युवा विश्वका १३२ भन्दा बढी देशमा रोजगारीको सिलसिलामा कार्यरत छन्। वैदेशिक रोजगारीलाई विस्थापित गर्दै युवा स्वरोजगार कार्यक्रम सुरु गरी राज्यलाइ थप बलियो बनाउँदै लैजान र राष्ट्रको समृद्धिको नेतृत्व गर्न अब युवाहरू एकजुट हुन जरुरी छ।
पछिल्लो समयमा सरकारका योजनामा युवाका कुरा समेटिए पनि स्वयं युवाहरु पनि सक्रिय, कर्मठ, कर्तव्यनिस्ठ, र सिर्जनशील भई युवा अधिकारको उपभोग गरी स्थानीय निकायदेखि केन्द्रसम्म आफ्नो प्रतिनिधित्व, पहिचान र नेतृत्वका साथै पहुँच बढाउन अग्रसर हुन अपरिहार्य छ। करिब दुई दशकपछि नेपालमा जनप्रतिनिधिहरुले स्थानीय सरकारको बागडोर सम्हालेका छन्। त्यस्तै २०७९ को स्थानीय तहको निर्वाचनमा ५ हजार ९४० जना युवा उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। यस्तो उत्साहजनक सहभागीताबाट के बुझ्न सकिन्छ भने युवाहरु स्थानीयदेखि केन्द्रसम्म बागडोर सम्हाल्न सबल र सक्षम छन्। यस्तै प्रदेश र संघीय निर्वाचनमा पनि केही नयाँ शक्तिको उदय हुनुका साथै पुराना शक्तिहरुमा पनि युवाहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गरेको कुरा धेरथोर देख्न सकिन्छ।
अतः मुलुकलाइ साचो अर्थमा समृद्ध बनाउने हो भने राज्यका संयन्त्रहरुले युवा शक्तिको सामथ्र्य अनुरुप उचित व्यवस्थापन गरी उनीहरुबाट अधिकतम लाभ लिने नीति अवलम्बन गर्नुपर्दछ। साथै राजनीतिमा मात्र नभई हरेक क्षेत्रमा युवा नेतृत्वको आवश्यकता विषयक बहस चलाउनुपर्दछ। सन् २०३० सम्म दिगो विकासको लक्ष्य हाँसिल गर्न पनि युवाहरुको सामूहिक प्रतिबद्धता, एकता, सहकार्य र योगदानबाट मात्र सम्भव छ। गाउँ, समाज, टोल, सरकारी कार्यालय र समग्र देशमा भ्रष्टाचार, बेथिति र अनियमितताको अन्त्यका लागि सबल, सक्षम एवम् निडर युवा नेतृत्वको आवश्यकता टड्कारो रुपमा देखा परेको छ। युवा जुनसुकै पार्टी र विचारको भए पनि साझा भएर देशको हितमा काम गर्न सक्नुपर्छ।
उसले बोक्ने एजेन्डा देशको हितसँग जोडिएको हुनुपर्छ। सिमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई एजेन्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाब गर्न थाल्छ र कालान्तरमा अहिले जस्तै भीभीआईपी भ्रस्टाचारीको रुप लिन्छ। युवाले हस्तक्षेपकारी भूमिका खेल्दै उठाउन सके मात्र समाज उठ्ने र जगाउन सके मात्र समाज परिवर्तन र देश समृद्ध बन्छ। आशा गरौँ आगामी दिनमा निष्ठा, सिद्धान्त, ज्ञान र चेतनाले भरिएका युवाहरू सामाजिक, आर्थिक र राजनीतिक नेतृत्वको क्षेत्रमा बाक्लिँदै जानेछन् र तिनको प्रभावकारी र दुरर्दशी नेतृत्वका कारण देश विकासको हरेक पल झन प्रभावकारी बन्नेछ।