धनगढी: बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएकी एक महिलाको शव फेला परेको छ। आज (आइतबार) जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालक्षेत्रमा हिमपहिरो गएको थियो।
उक्त हिमपहिरोमा परेर अहिलेसम्म १ महिलाको मृत्यु भएको र २ जना घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। उनका अनुसार मृत्यु हुने र घाइते हुनेमा सुर्माकै स्थानीय श्रीमान-श्रीमती रहेको र एकजना अर्का पनि घाइते बनेका छन्।
टेलिफोन सम्पर्क हुन नसक्दा उनीहरुको परिचय भने नखुलेको डिएसपी भण्डारीले बताए। यस्तै अन्य २ जना अझै सम्पर्कविहीन रहेको र प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ।
आइतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिमपहिरोमा परि बेपत्ता भएका थिए।
बेपत्ताहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वको टोली घटनास्थलतर्फ हिडेको छ।