काठमाडौं: चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १० औं पटक फाइनलमा पुगेको छ । आइपिएल २०२३ को पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । गुजरातका शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । चेन्नईको जितमा रविन्द्र जडेजा, दीपक चाहर र मथिशा पाथिरानाले सामान दुई विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले जीवनदानको फाइदा उठाउँदै ४४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए।
बुधबार एलिमनिटेर खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । आइपिएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ ।
सुरुवात देखि नै धोनीको कप्तानीमा खेल्दै आएको चेन्नईले चार पटक उपाधि जितेको छ । चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१०, २०११, २०१२, २०१३, २०१५, २०१८, २०१९, २०२१ र २०२३ मा फाइनलमा स्थान बनाएको हो ।