काठमाडौं: भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तान र नेपाललाई छोडेर एसिया कप २०२३ को तयारी थाल्न अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई निम्तो दिएको छ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को फाइनल मे २८ तारिखमा गुजरातको नरेन्द्र मोदी रंगशालामा हुँदैछ । यही आईपीएलको फाइनलको अवसरमा बीसीसीआईले बंगलादेश अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षहरूलाई निम्तो दिएको छ ।
आईपीएलको फाइनल खेल हेर्न नभई एसिया कप कहाँ गर्ने भन्नेबारे छलफल गर्न बीसीसीआईले बंगलादेश, अफगानिस्तान र श्रीलंकालाई बोलाएको भारतीय न्युज एजेन्सी एएनआईले लेखेको छ। जहाँ आयोजक राष्ट्र पाकिस्तानसँगै पहिलोपटक एसिया कप खेल्न लागेको नेपाललाई भने बोलाएको छैन ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष तथा बीसीसीआईका सचिव जय शाहले अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई एसिया कपका बारेमा छलफल गर्न बोलाएको एएनआईले लेखेको छ ।
एसिया कप २०२३ सेप्टेम्बर २ देखि १७ तारिखसम्म पाकिस्तानमा हुँदैछ । तर, भारतले कुनै पनि हालतमा पाकिस्तानमा गएर एसिया कप नखेल्ने बताउँदै आएको छ।