डडेल्धुरा: नर्सिङ गरेर बिरामीको सेवा गर्ने सपना बुनेकी थिइन् कल्पनाले। सोही सपना पूरा गर्न उनी डोटी पुगेकी थिइन्।
कञ्चनपुरको बेलौरी घर भएकी कल्पना कुँवर डोटीस्थित सिलगढीमा बस्दै आएका दाजु-भाउजूसँगै बस्थिन्। त्यहाँ बसेर उनी दिपायलमा रहेको सुजङ नर्सिङ कलेजमा अध्ययन गर्दै आएकी थिइन्। तर, नर्सिङ कोर्स सिध्याउन केवल १ वर्ष बाँकी रहदा उनी अब कलेज जान नसक्ने भएकी छिन्।
आज उनको मात्रै हैन पूरै कुँवर परिवारको सपना उडेर गएको छ। किनकी उनको परिवारको सपना पूरा गर्ने कल्पना यतिबेला यो संसारमै छैनिन्।
आफन्तका अनुसार नर्सिङ अन्तिम वर्षमा अध्ययन गरिरहेकी कल्पनाको स्वस्थ्यमा केहीदिन अघि समस्या आएको थियो।
उनलाई स्वास फेर्न गाह्रो भएको भन्दै ४ दिनअघि मात्रै अस्पताल लगिएको थियो। उपचारका क्रममा धनगढी लग्दा कल्पनाको मुटुमा समस्या देखिएको जानकारी पाइएको थियो।
उनको मुटुमा प्वाल रहेको थाहा पाएपछि परिवारले कल्पनालाई हिजो मात्रै काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगाएका थिए। तर, उनलाई बचाउन भने चिकित्सक सफल भएनन्। हिजोसम्म उपचार गराइरहेकी कल्पना आज बिहान बितेकी छिन्।
उमेरले १९ वर्ष मात्रै कटेकी उनको मृत्युको खबरले उनका आफन्त तथा साथीहरु विक्षिप्त बनेका छन्। धेरैले कल्पनाले छाडेर गएको भनि विश्वास नलागेको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन्।
1 Comment
Rest In peace