धनगढी – कैलालीको धनगढीस्थित बेहडाबाबा मेलामा आजबाट गंगा दशहरा मेला लागेको छ। तर, निकै चर्चित उक्त स्थानमा सुरक्षा दिन भने कैलाली प्रहरी असफल जस्तै बनेको छ। जसको पुष्टि आज घटेका घटनाले गरेको छ।
धनगढी-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा हरेक वर्ष गङ्गा दशहराका दिनबाट चार दिनसम्म मेला लाग्ने गर्छ। तर, यो वर्ष भने प्रहरी र मन्दिर व्यवस्थापन समितिको लापरबाही २ जनाको ज्यान गरेको छ भने समाजिक सञ्जाल विभिन्न टिकाटिप्पणीले भरिएको छ।
बेहडाबाबा मेलाको सुरक्षा र व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा धनगढी उपमहानगरपालिका १६ पथरीमा कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले एक साईकलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका धनगढी-१ पशुपति टोलका ३६ वर्षीय अमृत सोवाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ।
यस्तै, बेहडाबाबा स्थित तालमा डुबेर अर्का एक जना युवको मृत्यु भएको छ। डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाटको मङ्गलवार बिहान ५ बजे तालमा डुबेर मृत्यु भएको हो।
बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको थियो। निकै गहिरो तालमा पौडी खेल्न रोक्ने अवस्था हुँदाहुँदै पनि मन्दिर व्यवस्थापन समिति चुकेका कारण भाटको मृत्यु भएको थियो।
यति मात्रै हैन बेहडाबाबा मेलामा यो वर्ष पार्किङका नाममा रकम असुली धन्दा चलाइएको सर्वसाधारणले टिप्पणी गरेका छन्। सवारी पार्किङ शुल्क मात्रै १ सयदेखि ४ सयसम्म तिर्नु परेपछि सर्वसधारणले व्यापक आलोचना गरेका हुन्।
मन्दिर व्यवस्थापन समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको एक सय, अटोरिक्सा पार्किङको दुई सय, ट्याक्टरको तीन सय, जिप र कारको दुई सय पचास र बस पार्किङ गरेको ४५० असुली गरेको भन्दै आलोचना भएको हो। तर, सर्वत्र आलोचना भएपछि पार्किङ शुल्क कम गरिएको मन्दिर व्यवस्थापनले दाबी गरेको छ।