कैलाली– स्थानीय तहको निर्वाचनका लागि सत्तासीन दलहरूले सुदूरपश्चिममा जिल्लास्तरमै तालमेलको गृहकार्य थालेका छन् । केही जिल्लामा वडा तहसम्मै तालमेल गर्ने निर्णय भएको छ भने केही जिल्लामा तालमेलबारे छलफल सुरु भएको छ ।
कञ्चनपुर र अछाममा गठबन्धनले वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेको छ । डोटीमा पनि गठबन्धन गर्ने निर्णय भएको छ । औपचारिक निर्णय गर्न बाँकी रहे पनि कैलाली, डडेल्धुरा, बझाङमा पनि गठबन्धन गरेर जान दलहरू सहमत छन् ।
अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तह र ९१ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरेका छन् । तीनै दलका जिल्ला अध्यक्षले गत सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न स्थानीय तहका कमिटीहरूलाई पनि आग्रह गरेका छन् ।
सुदूरपश्चिममा नेकपा एमालेले पनि निर्वाचनमा तालमेलका लागि राप्रपा र नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग संवाद अगाडि बढाएको छ । एमाले नेताहरूले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई भेटेर निर्वाचनमा मिलेर जाने प्रस्ताव गरेका छन् । नयाँ पत्रिका