कैलाली– कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले मेयर पद नछाड्ने अडान लिएको छ । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घोडाघोडी कांग्रेसले मेयर नछाड्ने निष्कर्ष निकालेको हो ।
२२ गते कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि वडामा खटिएका प्रतिनिधिहरुले गठबन्धन गर्न नहुने सुझाव दिएका छन् । वडामा खटिएका जिल्ला समिति सदस्य अमर खत्रीले घोडाघोडीमा अहिले कांग्रेस एक्लै बलियो भएकाले गठबन्धन गर्न आवश्यक नभएको बताए ।
यदि गठबन्धन हुने अवस्था आए प्रमुख र अधिकांश वडाहरूमा अध्यक्षको दाबी रहने उनले बताए ।
घोडाघोडीका नगर उपसभापति तिलक भट्टराईले पनि अहिलेको अवस्थामा गठबन्धन गर्न नहुने बताए। गठबन्धन गर्नै परे पनि कांग्रेसलाई प्रमुख चाहिने बताए ।
नगर सभापति वमबहादुर सिंहले पनि घोडाघोडी नगरपालिकामा गठबन्धन भए प्रमुखमा आफ्नो पार्टीको दाबी गर्ने बताए । अहिले कैलालीमा गठबन्धन गर्ने पक्षमा गठबन्धनमा रहेका उच्च तहका नेताहरू छन् । कांग्रेसमा भने अहिले गठबन्धन गर्ने वा नगर्ने भन्नेमा जिल्लामा अन्यौलता छ । तर, जिल्ला समितिले भने केन्द्रले गठबन्धन गर्ने निर्णय गरेको हुँदा गठबन्धन हुने दाबी गरेको छ ।