काठमाडौँ– विश्वका केही देशहरुमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। विशेष गरी चीन र युरोपका धेरै भागमा दैनिक संक्रमण दर उच्च देखिएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार यी देशमा धेरैजसो संक्रमण ओमिक्रोनको सब–भेरिएन्ट बीए.टु (स्टेल्थ ओमिक्रोन) का कारण हुने गरेका छन्, जुन ओमिक्रोनको मूल भेरिएन्ट भन्दा बढी संक्रामक मानिन्छ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का वैज्ञानिकहरूले आफ्नो हालैको रिपोर्टमा कोरोनाको नयाँ उदीयमान खतरा एक्सई भेरिएन्टबारे मानिसहरूलाई सचेत गराएको छ। प्रारम्भिक अध्ययनमा यो अहिलेसम्मकै सबैभन्दा संक्रामक भेरिएन्ट ठानिएको छ।
डब्ल्यूएचओले आफ्नो रिपोर्टमा यो अत्यधिक संक्रामक बेलायतका धेरै स्थानमा देखिएको जनाएको छ। प्रारम्भिक संकेतले यो स्टिल्थ ओमिक्रोन भन्दा १० गुणा बढी संक्रामक हुन सक्ने देखाएको छ। यो भेरिएन्टलाई हाइब्रिड भेरिएन्ट भनिएको छ। डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको डेल्टाक्रोन पनि अध्ययनमा बढी संक्रामक र घातक भएको पाइएको छ।