अत्तरिया : कैलालीको गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामाकरण गरिएको होर्डिङ बोर्ड राखिएको छ । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले बिहिबार मुल गेटमा होर्डिङ बोर्ड राखेको हो ।
निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।
सोही अनुसार जेठ ५ गतेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा शहिद दशरथचन्द स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएको थियो ।
बजेटमा प्रतिष्ठान बनाएर १ सय बेडको अस्पताल संचालन गर्ने भनिएपछि संघर्ष समितिले बिरोध स्वरुप शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नामाकरण गरिएको होर्डिङ बोर्ड राखेको हो । होर्डिङ बोर्ड राख्नु अघि संघर्ष समितिले अत्तरिया चोकबाट बाजागाजा सहित र्याली निकालेको थियो । उक्त र्यालीले नै गेटामा पुगेर होर्डिङ बोर्ड राखेको थियो ।