धनगढी: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय नेताहरुलाई धम्की दिइएको बताइएको छ। कैलाली जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई थापाले धम्की दिएको बताइएको हो।
कैलाली काँग्रेसका सभापति नारायणदत्त भट्टले नै कैलालीका नेता तथा कार्यकर्ताहरुलाई थापाले धम्की दिएको बताए। उनले हिजो (शुक्रबार) चुरेको सहजपुरमा बसेको जिल्ला कमिटीको १२ औं बैठकमा यस्तो बताएका हुन्।
‘गगन थापाले कैलालीमा काङ्ग्रेसका हाम्रा साथीभाईहरुलाई प्रशनली धम्की दिएको थाहा पाए,’ उनले भने, ‘उहाँले फोन गरेर धम्की दिनुभएछ। मान्छेलाई बहकाउने, धम्काउने कोही नेता हुन सक्दैन।’ तर कुन विषयमा धम्की दिएको भनेर उनले खुलाएका छैनन्।
यस्तै उनले गगन थापा नेतालाई थर्काएर च्याखे थाप्ने र भाषण मात्रै गर्ने मान्छे भएको बताए। त्यस्तै अबको डेढ वर्षपछि गगन थापाको बिउँ पनि नभेटिने उनको दाबी छ।
उनले भने, ‘आफूलाई युवा भन्ने गगन थापा मन्त्री पाएको भए पार्टीमा चुप लाग्थे। आफ्नो जिम्मेवारी बिर्सेर गैरजिम्मेवार बन्नु हुँदैन।’ थापा पार्टीमा क्याम्प परिवर्तन गर्ने नेता भएको उनको भनाई छ।