धनगढी: सुदूरपश्चिमका यातायात व्यवसायीहरु आन्दोलित भएका छन्। प्रदेशले तोकेको नयाँ भाडादर समायोजनको विषयमा सहमती हुन नसकेपछि यातायात व्यवसायीहरु हिजोदेखि आन्दोलित भएका हुन्।
केही दिनअघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामो दुरीका सार्वजनिक सवारी साधनको भाडादर तोकेको थियो। जसअन्तर्गत धनगढीदेखि बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिएको थियो । तर यातायात व्यवसायीहरुले भने पुरानै भाडा एक हजार दुई सय ५० रुपैयाँ लिन पाउनुपर्ने बताएका छन् ।
प्रदेश सरकारले एकलौटी रुपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीहरुले बझाङमा आज बिहानैदेखि यातायातका साधनहरु पुर्णरुपमा बन्द गरेका हुन । लामोदुरीका सार्वजनिक सवारी साधन ठप्प भएपछि जिल्ला आउने र बाहिर जाने यात्रुहरु अलपत्र परेका छन् ।
अहिले धनगढीमा यातायात सञ्चालनको लागि सहमतिको प्रयास भइरहेको जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यलय बझाङले जनाएको छ ।