धनगढी: नेकपा एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणाबारे सुदूरपश्चिम प्रदेश सरकारको धारणा मागेको छ ।
आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेश सरकारको धारणा मागेका हुन् । उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै आन्दोलन भइरहेका बेला प्रदेश सरकारको कुनै धारणा नआएको बताए । उनले प्रदेशवासीको आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए ।
‘गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ तर यसबारे प्रदेश सरकारको धारणा के हो ?’ पाठकले भने, ‘हामीले यसअघिको बैठकमा पनि सरकारको धारणा मागेका थियौँ तर अहिलेसम्म केही आएको छैन । सभामुख महोदय धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन गरियोस् ।’