महेन्द्रनगर : ककञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा तरकारी र फलफूल व्यवसायमा संलग्न राज गुप्ताको गोली हानि हत्या गरिएको घटनाको अवस्था अझै अद्ज्ञात रहेको छ । गत बिहीबार भारत उत्तरप्रदेशको बरेलीस्थित अग्रसेन नगर कलोनीमा उनको हत्या गरिएपनि प्रहरीले अझै घटनामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन।
बाबु भनिने राज गुप्ताको टाउकोमा नजिकबाट केहीँ गोली प्रहार गरिएको थियो। गोलीले उनको टाउको क्षतविक्षत भएको थियो।
उनी महेन्द्रनगरको गल्ली नं। ४ स्थित घटाल फ्रुट सेन्टरका सञ्चालक भुरा गुप्तासँग फलफूल र शम्भु साहसँग मिलेर तरकारी व्यवसायमा संलग्न रहेको खुलेको छ।
अग्रसेन नगर कलोनीमा रहेको आफ्नै घरमा राजको गोली हानेर हत्या गरिएको भारतीय प्रहरीले जनाएको छ। राजका बुवा शिवओम गुप्ताले घटनाबारे ३६ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराएका थिए। घटनाबारे प्रहरीले कुनै खुलासा भने गर्न सकेको छैन।
प्रहरीले राज नाम गरेका दुई जना साथी र एक युवतीसँग सोधपुछ गरिरहेको छ भने घटना भएको समयको सिसिटिभी फुटेजहरु पनि संकलन गरी विश्लेषण गरिदैछ। राजको घाँटीमा रहेको सुनको चेन र अंगुठीलगायतका सामान पनि गायब गरिएका छन्।
घटनाको समयमा राजका बुवा शिवओम परिवारका अन्य सदस्यसहित भान्जाको बिहेमा गएका थिए। घरमा राज एक्लै थिए। राती करिब साढे ३ बजे घर फर्किदा आफ्ना छोरालाई मृत अवस्थामा फेला पारेको बयान उनले भारतीय प्रहरीलाई दिएका छन्।
बरेली सिटीका एसपी राहुल भाटीले राज हत्याबारे केहीँ कुरा स्पष्ट र केही अस्पष्ट भएको र चाडै सबै कडिहरु जोडेर घटनाबारे मिडियालाई ब्रिफ गर्ने बताएका छन्।