धनगढी: हिन्दी सिनेमा ‘आदिपुरुष’को प्रदर्शनमा नेपालमा पनि हलहरुले प्रत्येक शोमा एउटा सिट हनुमानका लागि छुट्याउने भएका छन्। धनगढीको एसटीएस सिनेमा हलले पनि हनुमानका लागि सिट छुट्टयाउने भएको हो। निर्माण पक्षले गरेको आग्रह अनुसार हनुमानका लागि प्रत्येक शोमा एउटा सिट खाली गर्ने निर्णय गरेको सिनेमा घरले बताएको छ।
‘जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन् । यस विश्वासलाई सम्मान गर्दै प्रभासको सिनेमा आदिपुरुष जहाँ प्रदर्शनहुन्छ त्यहाँ एक सिट विशेष रूपमा हनुमानका लागि छुट्याइनेछ,’ आदिपुरुष टिमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
ओम राउतले निर्देशन गरेको सिनेमामा प्रभास रामको भूमिकामा छन्। सैफअली खानलाई रावणको भूमिकामा देख्न सकिनेछ। कृतिसेननले सीताको भूमिका निर्वाह गरेकी छन्। जुन १६ बाट सिनेमा रिलिज हुँदैछ।
पाँच सय करोडमा बनेको सिनेमाले रिलिजअगाडि नै ४३२ करोड भारतीय रुपैयाँमा उठाएको छ। अब यो सिनेमाले हलबाट ६८ करोडभारू मात्र कमाए लगानी सुरक्षित हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।