आर.एस भट्ट, काठमाडौंः स्थानीय तह निर्वाचन २०७९ अगाडि नै बहुत चर्चामा आएका पात्र हुन बालेन्द्र साह उर्फ बालेन। काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेदेखि नै उनको चर्चा सुरु भएको थियो। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेनले निर्वाचन पनि जिते।
त्यसपछि उनको चर्चा लोकप्रियतामा परिणत भयो। कार्यकालको पहिलो वर्षमा नै बालेनले विभिन्न काम गरेर निकै चर्चा कमाएका छन्। तर उनको पछिल्लो एक निर्णय भने लोकहितका विपरीत छ। यसले उनलाई विवादमा ल्याउने संकेत देखिएको छ।
काठमाडौंको सार्वजनिक सवारी साधनका सवालमा महानगरपालिकाले एक सार्वजिक सूचना जारी गरेको छ। असार १ गतेदेखि लागू हुने गरि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो। यात्रुवाहक सवारी साधनहरु नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने लगायतका विषयहरु यस सूचनामा समावेश गरिएको छ। साथै लामो तथा छोटो दुरीमा सञ्चालन हुने सवारीको हकमा यो सूचना अस्वभाविक भएको भन्दै विरोध हुन थालेको छ।
सूचनामा भनिएको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडिबुटीसम्म सवारी रोक्न निषेध गरिएको छ।’ यो वाक्यलाई परिभाषित गर्दा धुलिखेलबाट आएको यात्रुलाई कोटेश्वरमा झर्नु पर्ने भएपनि नयाँ बसपार्कमा नै पुग्नु पर्ने हुन्छ। यो निर्णय यात्रु र यातायात व्यवसायीका लागि उपयुक्त नभएको भन्दै विरोध हुन थालेको छ। यातायात व्यवसायीहरु यसकै विरुद्धमा आन्दोलन गर्ने तयारीमा जुटेको नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले महेन्द्रनगरपोष्टलाई बताए।
‘महानगरले गरेको यो निर्णय सबै कोणबाट गलत छ। धुलिखेलबाट आएको यात्रुले कोटेश्वरमा झर्नु पर्ने भएपनि नयाँ बसपार्क पुग्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यो महानगरको निर्णयले कसैलाई फाइदा पुग्ने देखिएको छैन। यो निर्णय फिर्ता लिनु पर्छ।’ काठमाडौं महानगरपालिकाले गरेको निर्णय आगामी असार १ गतेदेखि लागु हुने जनाएको छ।
एकै बसपार्कबाट सबै सवारी साधन सञ्चालन गर्नु राम्रो पक्ष हो। तर, महानगरको सवारी चाप, यात्रुको सहजतालाई व्यवस्थापन गर्ने गरी वैज्ञानिक निर्णय गर्नु पर्ने थियो। हालको नयाँ बसपार्कमा ७ देखि ८ सय सवारी मात्रै पार्किङ गर्न सकिने अवस्था छ। तर, कोटेश्वरपूर्व मात्रै ५ हजार भन्दा बढी सवारीहरु सञ्चालन भइरहेका छन्। यी सवारी पनि नयाँ बसपार्कमा नै लैजाने हो भने त्यहाको अवस्था कस्तो होला कल्पना गर्न पनि सकिदैन।
त्यसकारण महानगरपालिकाले विकल्प खोज्नु पर्ने थियो । त्यसतर्फ ध्यान नदिएर यातायात व्यवसायीसँगै यात्रुलाई पनि मर्का पर्ने गरी गरिएको निर्णयले झन समस्या हुने देखिएको छ । यातायात व्यवसायीहरु पनि महानगरले सबै समस्या समाधान गर्ने निर्णय मान्न तयार रहेको बताउँदै आएका छन्। तर देशकै राजधानीमा रहेको महानगरले गरेको यो निर्णय यात्रुका पक्षमा नभएको भन्दै विरोध हुन थालेको छ।
सवारी जाम र यात्रुलाई सहज हुने गरी गर्नु पर्ने निर्णय हचुवाको भरमा गरको भन्दै यातायात व्यवसायी तथा मजदुरहरु आन्दोलनमा उत्रिने चेतावनी अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीको छ। ‘बालेनले यात्रुलाई पनि सास्ती हुने गरी निर्णय गरेका छन्। यो स्वीकार गर्न सकन्न। थप व्यवस्थापन गर्नु पर्ने अवस्थामा समस्या हुने काम भइरहेको छ,’ उनले भने।
महानगरले गरेको निर्णयमा टिकट बुकिङ गर्ने काउन्टरलाई पनि नयाँ बसपार्क भित्र राख्नु पर्ने भनिएको छ। अहिलेको अव्यवस्थीत काउन्टरका कारण सडक जाम तथा यात्रुलाई समस्या हुने गरेको छ। यसलाई मध्यनजर गर्दा महानगरको निर्णय उपयुक्त हुन्छ। तर, हरकोही यात्रुले टिकट बुकिङ गर्न पनि बसपार्कमै पुग्नु पर्ने अवस्था भने स्वभाविक छैन। यसमा ति काउन्टरलाई व्यवस्थीत गर्नका लागि सटरमा राख्नु पर्ने लगायतको दिर्नेशन दिनु पर्ने थियो।
सार्वजनिक सडक कब्जा गर्नु अपराध हो। तर, व्यवस्थीत रुपमा ठाउँठाउँमा सटक भित्र मात्रै काउन्टर खोल्दा यात्रुलाई नै सहज हुने अनुमान गरिएको छ। तर महानगरले भने यसमा पनि एकलौटी रुपमा निर्णय गरेको छ। बसपार्कका सवालमा पनि ठाउँठाउँमा नयाँ बसपार्क बनाउनुपर्ने थियो। तर, निजी यातायात प्रालिले आफ्नै लगानीमा बसपार्क बनाउछु भन्दा पनि अनुमति पाएको छैन। पूर्व अरनिको यातायात प्रालिले आफ्नै जग्गामा आफ्नै लगानी लगाएर बसपार्क निर्माण गर्छु भन्दा पनि महानगरले चासो दिएको छैन।
यसतर्फ ध्यान नदिएको महानगरले गरेको निर्णय कार्यान्वयन गर्न खोज्दा प्रतिकारमा उत्रिने पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले बताए। ‘असार १ गते देखि महनगरको कामलाई प्रतिकार गरिन्छ। यो निर्णय कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन,’ क्षेत्रीले भने।
महानगरको निर्णयका विरुद्ध आन्दोलन गर्ने चेतावनी यातायात व्यवसायीहरुले दिएका छन्। केही दिन अगाडि आयोजना गरिएको संयुक्त व्यवसायी तथा मजदुरहरुको भेलाले महानगरविरुद्ध आन्दोलन गर्न संघर्ष समित गठन गरको छ। पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीको संयोजकत्वमा आन्दोलन परिचालन कमिटि गठन गरिएको छ। समिटिको सहसंयोजकमा नारायण भट्टराई र कान्छामान थिङ र सचिवमा सप्तकोशी यातायात प्रालिका अध्यक्ष देवीन श्रेष्ठ चयन भएका छन्। यो कमिटिले महानगरका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।