धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कुमारी कौशिला चन्दले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विषयलाई लिएर माफी मागेकी छन्।
अस्ती २१ जेठमा पालिकामै आयोजित जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा दिएको अभिव्यक्तिलाई लिएर भाइरल नै बनेकी उपमेयर चन्दले माफी मागेकी हुन्।
जातीय रुपमा विभेदपूर्ण हुने अभिव्यक्ति दिएकी उनले केही दिन अटेरी गरेर जब्बर बन्न खोजेपनि आज अन्ततः क्षमा मागेकी हुन्।
उनले दिएको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो। सो विषयमा महेन्द्रनगरपोष्टले समाचार पनि सम्प्रेषण गरेको थियो। तर समाचार आएपछि उनले उल्टै मिडियाले बदनाम गरेको भन्दै आरोप लगाएकी थिइन्। त्यतिमात्र होइन, उनले महेन्द्रनगरपोष्टविरुद्ध विज्ञप्ती नै निकालेकी थिइन्।
तर आज बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले आफ्नो बोली र व्यवहारका बिषयमा गल्ती स्वीकार गर्दै माफी मागेको बताइएको छ।
उनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘यदि मेरो भनाई र व्यवहारमा कहिँ कतै जातीय विभेद गर्ने आशयको जस्तो महसुस भएको भए यहाँहरुको भावनाको उच्च सम्मान गर्दै नगर उप–प्रमुखका रुपमा क्षमा चाहन्छु।’
यसअघि भने ३२ जेठमा उनले नै जारी गरेको विज्ञप्तीमा आफ्नो गल्ती नभएको झुटो कुरा लेखिएको थियो। जबकी अहिले उनले माफी नै माग्नुपर्यो। चन्दले अहिले कारबाहीको डरले क्षमा मागेको देखिएको छ।
उनले सार्वजनिक रुपमा दलित समुदायलाई होच्याउने किसिमले अभिव्यक्ति दिएकी थिइन्। उक्त बिषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ती जारी गर्दै चन्दलाई कारबाहीको मागसहित सरकारको ध्यानाकर्षण गराएको थियो। उप–प्रमुख चन्दले दिवसका दिन आयोजना गरिएको अन्तरक्रियामा भाषण गर्दै जातीय विभेदलाई प्रश्रय दिने अभिव्यक्ति दिएकी थिइन्।
यो पनि: