काठमाडौं : नेपाली चलचित्र ‘बगान’को टिजर सार्वजनिक भएको छ । साहित्यकार स्वप्निल नीरवको कथा लेखन रहेको नारीप्रधान चलचित्र ‘बगान’ असार २९ गतेदेखि प्रदर्शन हुँदैछ ।
‘यो एक विधुवा आमाको कथा हो । जसको जिन्दगीमा पनि प्रेम होस् भन्ने छोरीको पहल हुन्छ ।’, कथाकार नीरव भन्छिन् । आफ्नै आमाको जिन्दगी हेरेर यो कथा तयार पारेको उनको दाबी छ । ‘बुबा बित्नुभएपछि मैले विवाह गर्नु भनेकी थिएँ, बाँकी कथा चलचित्र हेरेर थाहा पाउने जिम्मा दर्शकको हो ।’, उनले भनिन् ।
यश चलचित्रमा सरोज खनालको निर्देशन आफूलाई चित्त बुझेको उनी बताउछिन् । ‘कथालाई न्याय हुनेगरी निर्देशन गर्नुभएको छ । अभिनय पनि राम्रो छ । यो फिल्म नराम्रो छैन ।टिनेजदेखि अभिवाकसम्मले हेर्नुपर्ने चलचित्र हो यो।’, उनको दाबी छ ।
साहित्यकार नीरवका दुई सन्तान थिए, दुवै सन्तान अहिले उनको साथ छैनन् । शोकलाई शक्तिमा बदल्न सक्ने उनको साहस पक्कै यश चलचित्रमा पाउन सकिन्छ । एक मिनेट १३ सेकेण्ड लामो टिजरले कथावस्तु र चरित्र चित्रणले यहि भन्छ ।
चलचित्रमा एकातिर करिश्मा मानन्धर र सरोज खनालको जोडी छन् भने अर्कोतिर आकाश श्रेष्ठ र प्रमिला कार्की छन् । करिश्माले यसमा एकल आमाको भूमिका निर्वाह गरेकी छन् । करिश्माको पात्रको नजरबाट भनिएको कथामा एकल महिलाको चाहना र संवेदनालाई पेश गरिएको छ । यस्तै चलचित्रमा नीर शाह, मिथिला शर्मा र वसुन्धरा भुसालको पनि मुख्य अभिनय रहेको छ ।
सुरेश वाग्लेको निर्माणनिर्माण रहेको यश चलचित्रको सिनेमाटोग्राफर नारायण जिसी र उत्सव दाहालको रहेको छ भने सम्पादन सन्देश शाहको रहेको छ ।