धनगढीः धनगढीकी एक महिलामाथि कुटपिट भएको छ। धनगढी उपमहानगरपालिका- १३, कैलाली गाउँका देवराज अवस्थीले आफ्नी ६० वर्षीया आमा चित्रादेवी अवस्थीमाथि कुटपिट भएको बताए।
जग्गा सम्बन्धी विवादमा उनकी आमालाई छिमेकी रमेश अवस्थीले कुटपिट गरेको उनले बताए। उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ताका लागि जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको बताए।
‘बुधवार साँझ मेरी आमामाथि कुटपिट भएको हो, म उतिबेला घर थिइन, आमामाथि कुटपिट भएपछि जिप्रका गएर मुद्दा दर्ता गराउन खोज्यौँ तर प्रहरीले मानिरहेको छैन। आज आइतवार भइसक्यो,’ उनले भने । आफ्नी आमामाथि कुटपिट गर्ने व्यक्ति सशस्त्र प्रहरीका जवान पनि भएकाले आफूहरुको मुद्दा दर्ता नभइरहेको उनको आरोप छ।
यता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले सकेसम्म दुबै पक्षबीच मेलमिलाप भए समस्याको दीर्घकालीन समाधान हुने भन्दै मुद्दा दर्ता नभएको बताए। उनीहरुबीच धेरै पहिलेदेखि नै जग्गा सम्बन्धी विवाद रहेको उनले बताए। उनका अनुसार दुबै पक्षले नै हातपात भएको भन्दै मुद्दा दर्ता गराउन खोजिरहेको छ।
‘हातपात भएको भनेर मुद्दा दर्ता गराउन दुबै पक्षले नै खोजिरहेका छन् तर दुबै पक्ष बसेर मेरो यो कुरामा गल्ति भयो भन्दै दुबै पक्षले आफैले स्विकारे समस्याको समाधान हुन्थ्यो। अहिले अभद्र व्यवहारमा मुद्दा लगाएर १५÷२० दिन थुनामा राखेर फेरि घर फर्कन्छन्, समस्या उस्तै रहन्छ। उहाँहरुको समस्या पूर्णरुपमा समाधान होस् भन्ने हाम्रो चाहना हो, जसका लागि दुबै पक्षले आ–आफ्ना गल्ति स्विकार्न आवश्यक छ,’ उनले भने।

