काठमाडौं । आज शनिबारदेखि निर्वाचन आचारसंहिता लागू गरिएको छ ।
निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ लागू गरेको हो । प्रधानमन्त्री, मन्त्रीदेखि सरकारका सबै निकायमा कार्यरत उच्चपदस्थ, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न संघसंस्था र सर्वसाधारण मतदातासमेत अनुशासन र निश्चित सीमामा बस्नुपर्नेछ ।
आचारसंहिता अनुसार प्रधानमन्त्री, मन्त्री, सबै राष्ट्रसेवक कर्मचारी, संवैधानिक निकाय, सबै सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधि र उच्चपदस्थहरू साथै सबै संघसंस्था तथा सर्वसाधारण नागरिकले समेत निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेछ ।
प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक निकायमा रहेका पदाधिकारीले सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न समेत गर्न नपाउने भएका छन् ।