धनगढी: आफ्नै घरमा मृत अवस्थामा फेला परेकी कैलालीको गोदावरी नगरपालिका–४ वसन्तपुरकी १८ वर्षीया अश्मी बोहरा (निलम)को न्यायका लागि स्थानीयले प्रदर्शन गरेका छन् ।
अश्मीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले अत्तरियामा प्रदर्शन गरेका हुन् । अश्मीमाथि जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर आत्महत्या गरेको परिवारको दाबी छ ।
नेपालगञ्जको अलाइट टेक्निकल कलेजमा अध्ययनरत अश्मीमाथि सोही कलेज पढ्ने लक्ष्मीको घर गएका बेला बलात्कार भएको दाबी उनको परिवारको छ । लक्ष्मी फरार रहेकी र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अश्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका–३ का २१ वर्षीय डिलेन्द्र शाही पक्राउ परिसकेका इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए । अप्थामालोजी (नेत्र विज्ञान) विषयमा अध्ययनरत अश्मी कलेजकै होस्टेलमा बस्दै आएकी थिइन् ।