धनगढीः गत बैशाख १८ गतेको रात धनगढीमा पानी परेको थियो। त्यहीँ दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय नजिकै गोदावरी नगरपालिका-२ तेघरीका ५२ वर्षीय खड्ग साउँदलाई बाइकले उडायो। हिडिरहेका उनलाई गेट अगाडिकै सडक छेउमा पछाडिबाट आइरहेको मोटरसाइकलले ठक्कर दिएको (उडाएको) थियो।
उनी सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाइमा कार्यरत थिए। मोरसाइकलको ठक्करबाट साउँद घाइतेमात्र भएका थिए। त्यसबेला नै ठक्कर दिने मोटरसाइकलसहित चालक भने अलप भैसकेका थिए। सडकमा घाइते बनेका साउँदलाई भने प्रहरीले सेती प्रादेशिक अस्पतालमा लगेर उपचार थालिएको थियो। तर उनको परिवारका सदस्यले उपचारमा सेतीले लापरबाही गर्नसक्ने भन्दै उनीहरूले साउँदलाई मायामेट्रो अस्पताल लगेर उपचार गर्न भने।
तर, उनको टाउकोमा चोट लागेकाले मायामेट्रो अस्पतालका चिकित्सकहरुले साउँदलाई बचाउन नसकिने जनाए। त्यसपछि मायामेट्रो अस्पतालले साउँदलाई मृत घोषणा गरेको थियो। यता उनलाई ठक्कर दिनेको अहिले पनि उनको केही पत्तो लागेको छैन। यतिका दिन बित्दासम्म पनि प्रहरीले भने अनुसन्धान भैरहेकै कुरा जानकारी गराएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउदले अहिले पनि सो घटनाको अनुसन्धान जारी रहेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार त्यो दिन पानी परेकाले सिसिटिभीमा मोटरसाइकल र मानिसको हुलिया राम्रोसँग देखिएको छैन्। यस्तै सो घटनामा कैलाली प्रहरीले सिसिटिभीको भिडिओ परीक्षणका लागि काठमाडौं पठाइएको र रिपोर्ट आउन केही समय लाग्ने बताए।
कैलाली प्रहरीले थप अनुसन्धान एवं ती मान्छे को थिए ? भन्ने जान्नका लागि त्यो रिपोर्ट कुरिरहेको जनाएको छ। मोटरसाइकको नम्बर तथा ठक्कर दिनेको पहिचानका लागि भिडिओ काठमाण्डौं पठाइएको हो। साउँद श्रीमती र छोरीसहित सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको आवाश गृहमा बस्दै आएका थिए।