काठमाडौँ: नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ। उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले बताइन्।
तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन्। प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए।
रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। आज बिहान दश बजे उनको शब पोष्टमार्टम हुनेछ।
लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए। सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन्।
Facebook Comments Box