बैतडी: भारतको उत्तराखण्डमा रहेको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । बाँध खोलेसँगै महाकाली नदीको जलस्तर बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै प्रशासन कार्यालयले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्क रहन आग्रह गरेको हो । वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोल्न लागेको धौलीगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
उनले भने, ‘वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले जुनसुकै बेला पनि बाँधको ढोका खोलिने जानकारी आएको छ । त्यसैले महाकाली नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ ।’ लगातारको वर्षा र बाँध खोलिएपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना बढी भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको उनले बताए । रासस