धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन। प्रदेश सभाको दोस्रो अधिवेशनको १४ औं बैठकबाट बजेट प्रस्तुत गरिएको करिब एक महिना पुग्न लाग्दा गठबन्धनभित्रैको असन्तुष्टिले बजेटमाथिको छलफल अघि बढ्न नसकेको हो।
सरकारले असार १ गते चालु र पुँजिगततर्फ गरी २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो। सरकारले ल्याइएको बजेटसँगै विकास कार्यक्रम (रातो किताव) प्रति सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुमा व्यापक असन्तुष्टि बढेको छ। बजेटमाथि सत्तारुढ दलसँगै भित्रै प्रतिपक्षीको असन्तुष्टि बढेको हो। जसका कारण प्रदेशको बजेट पास हुन सकस पर्ने देखिएको छ।
बजेटमाथिको छलफलमा केन्द्रित हुनुपर्नेमा प्रदेश सभा सदस्यहरू भने मुस्ताङतिर घुम्न, रमाइलो गर्न गएको खुलेको छ। प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको भ्रमणमा उनीहरु मुस्ताङतिर हानिएका हुन्। अस्ति नै मुस्ताङ लागेका माननीयहरु अहिले भने धनगढी फर्कने क्रममा छन्। भने केहीले काठमाडौंमै डेरा जमाएका छन्। उनीहरुले काठमाडौंमा गठबन्धनसहितका शीर्ष नेताहरूलाई भेट्दै दबाब दिएर बजेट परिवर्तन गराउनका लागि पहल गरिरहेका छन्।
यस्तो गर्नेमा सत्ता पक्षकै प्रदेश सभा सदस्यहरू रहेको पाइएको छ। यो बीचमा कांग्रेसका प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्काको नेतृत्वमा ६ जनाले सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधन नगरी पास गर्न नसकिने बताएका छन्। देउवाले मुख्यमन्त्री र अर्थमन्त्रीलाई भनेर बजेट संशोधन गर्ने आश्वासन दिएका छन् भने उता माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा दलका नेता खगराज भट्टसहितको टोलीले पनि प्रधानमन्त्रीलाई भेटेर बजेटमा असन्तुष्टि रहेको जनाएका थिए।
माओवादीकै अर्का प्रदेशसभा सदस्य ओमविक्रम भाट सरलले पनि बजेटको पहिल्यैदेखि चर्को आलोचना गर्दै आएका छन्। उता नेकपा एसका नेताहरुले पनि अध्यक्ष माधव कुमार नेपाललाई भेटेर नै ध्यानाकर्षण गराएको बुझिएको छ। बजेटलाई लिएर सरकारमा रहेको कांग्रेस र माओवादीमात्रै होइन, एकीकृत समाजवादीका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीको पार्टीमा ठूलो असन्तुष्टि छ।
एमालेसहितका अन्य प्रतिपक्षी दल र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि बजेटलाई रुचाएका छैनन्। आर्थिक मामिलामन्त्री शाहीको गृहजिल्लाकै अर्थ सचिव भएपछि उनलाई यस्तो फसाद परेको बताइन्छ। स्रोतका अनुसार सचिव डा. नारायण रेग्मीको विश्वासमा परेर बजेट निर्माण गर्दा बजेटबारे ठूलो असन्तुष्टी आएको हो। बजेटपछि मन्त्री र सचिबीच पनि खटपट भएको बताइन्छ। बजेट भाषणपछिको पत्रकार सम्मेलनमा पनि सचिव रेग्मी गयल थिए।