काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ। आइतबार काठमाडौंमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेलले अर्थमन्त्री शर्मालाई जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।
सांकेतिक विरोध प्रदर्शनका क्रममा अर्थमन्त्री शर्माको तस्बिर फर्सीमा पोतेर, उक्त फर्सीलाई कुर्सीमाथि राखेर विरोध जनाइएको हो। ‘मुलुक भयावह आर्थिक संकटमा गुज्रिरहेको समयमा आफ्ना अनुचित दबाब पालना नगरेको भन्दै गभर्नरलाई निलम्बन गर्ने काम अपराध हो,’ अध्यक्ष पौडेलले भने, ‘यसले बढ्दो संकटपूर्ण अवस्थामा विश्वभर नकारात्मक सन्देश प्रवाह गरेको छ । त्यसैले यसका मुख्य अभियुक्त रहेका अर्थमन्त्री ई पदमुक्त मात्र होइन, जेल सजाय नै हुनुपर्छ।’
कोभिड–१९को महामारीको विषम परिस्थितिमा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ७ प्रतिशत आर्थिक वृद्धि गराउन सफल भएको उनले बताए। अहिलेको सामान्य अवस्थामा पनि ७ प्रतिशतले नै आर्थिक वृद्धि भइरहेको समेत अध्यक्ष पौडेलले प्रष्ट पारे।
उनका अनुसार यही तथ्यले नै वर्तमान सरकारको नालायकीपन झल्किरहेको छ । सरकारको नालायकीपनविरुद्ध कडा प्रतिवादमा उत्रन समेत अध्यक्ष पौडेलले युवाहरूलाई आह्वान गरे ।