कैलाली– जिल्ला सुरक्षा समिति कैलालीले आइतबार मोहन्याल गाउँपालिका र लम्कीचुहा नगरपालिकाका विभिन्न मतदान स्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको छ । जिल्लामा रहेका सबै सुरक्षा निकायका प्रमुख सम्मिलित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले मतदान स्थलमा सुरक्षा संवेदनशिलता, निर्वाचनको समयमा अपनाउनु पर्ने सुरक्षा नीति, मतदाता, उम्मेदार र पतपेटीकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्यन गरेको हो ।
सुरक्षा संवेदनशिलताका आधारमा कुन मतदान स्थलमा कति सुरक्षाककर्मी परिचालन गर्ने भन्ने विषयमा जिल्लाका विभिन्न स्थानमा अनुगमन भइहेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । जिल्लाको सबैभन्दा सुरक्षा संवेदनशिल र जटीलता मोहन्याल गाउँपालिकामा रहेको उनले बताए । उनले मतदानपछि मतपेटीका समयमै संकलन गर्न सोल्टामा हेलिकप्टर ल्याण्ड गर्नको लागि समेत अध्यन तथा अनुगमन गरिएको बताए ।
अनुगमन टोलीमा रहेका कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले शान्तिसुरक्षा सामान्य रहेको बताए । उनले निर्वाचनलाई शान्तिपुर्वक र भएरहित बनाउन एकीकृत सुरक्षा बनाउन लागिएको जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख निर्वाचन अधिकृत प्रेमराज भट्टले निर्वाचनलाई भयरहित र मर्यादित रुपमा सम्पन्न गर्न आफूहरु लागिरहेको बताए । उनले जिल्लाका १३ वटै स्थानीय तहमा मतदान स्थल र मतदान केन्द्र तोक्ने, जिल्लास्थिी सुरक्षा समितिले निरीक्षण गर्ने, सुरक्षाको हिसाबले सामान्य, संवेदनशिल र अतिसंवेदनशिलका रुपमा बर्गीकरण गर्ने, सबै पालिकामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गर्ने, कर्मचारीको खटनपटन र तालिम तथा अभिमुखीकरण दिने काम भइरहेको बताए ।
उनका अनुसार ५ लाख २५ हजार १ सय २५ जना मतदाता संख्या रहेको कैलालीमा २ सय ३६ मतदान स्थल र ६ सय १९ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा अतिसंवेदनशिलमा ५२, संवेदनशिलमा ५३ र १ सय ३१ सामान्य मतदान स्थलमा बर्गाीकरण गरिएको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी थापाको नेतृत्वमा रहेको टोलीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारी, सेनानी दिनेश थापा, जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्ट, राष्ट्रीय अनुसंधान बिभागका रमेशसिंह डांगा, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक धनबहादुर सिंह, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीलगायतकाको सहभागिता रहेको थियो ।