डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ अन्र्तगत पर्ने घटाल–चिम्रिकोट सडकमा निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको छ। सुदुरपश्चिमको प्रसिद्ध धार्मीक शक्तिपीठ घटाल थानलाई जोड्ने उक्त सडकको अहिले नै त्यस्तो दुर्दशा भएपछि व्यापक बिरोध हुन थालेको छ।
कमसल सामग्री प्रयोग गरिएकोले काम सम्पन्न नहुँदै कालोपत्रे उप्किएको स्थानीयको आरोप छ। सडको एक स्थान भाँसिएको समेत छ। उक्त भाँसिएको चिरा माटो हालेर पुर्ने प्रयास गरिएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका–२ अन्र्तगत घटाल–चिम्रिकोट सडकखण्डको १३ सय ४५ मिटर कालोपत्रेको काम धुलिखेल एलवी एण्ड एवी शिवलिङ्ग जेभीले गर्दै आएको छ।
नगरपालिकाले निकालेको बोलपत्र अनुसार ४ करोड ६५ लाख २४ लाख दुई सय १८ रूपैयाँमा निर्माण कम्पनीले २०७८ माघ २५ गते उक्त योजनाका लागि सम्झौता गरेको थियो।
तर, करिव दुई सय मिटर कालोपत्रे गर्न बाँकी छँदै काम सकेको सडक उप्किन थालेको छ भने सडक छेउमा लगाइएका पर्खाल भत्किन लागेका छन्।
१५ दिनअघि गरेको पिच हातले समेत उप्किन थालेको स्थानीय चेतन खडायतले बताए। उनले कालोपत्रे गर्ने क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्दै सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताएका छन्।
सडक निर्माणका क्रममा नगरपालिकाका इन्जिनियर दिनरात नियमित अनुगमन गर्दै आएका थिए। तर, पनि कालोपत्रे उप्किन थालेपछि त्यहाँ अनियमितताको गन्ध आएको स्थानीय भोज कडाले बताए। ‘सुरुमा राम्रै बनाएको थियो। तर, यो त उप्किन थालेको छ। ६ महिना टिक्न पनि मुस्किल छ’ उनले भने।
अमरगढी नगरपालिका–२ का वडाअध्यक्ष हेमराज पन्तले भने आफुले पनि अनुगमन गरिरहेको बताएका छन्। ‘कति एमएम गिट्टी कति एमएम अलकत्रा हाल्नुपर्छ भन्ने हामीलाई थाहा हुँदैन। त्यो प्राविधिकको कुरा हो। हामीले काम छिटोभन्दा छिटो गरौं भनेर पहल गर्ने कुरा हो’ उनले भने, ‘गुनासो आएपछि मैले नगरपालिकामा जानकारी गराएको छु।’
तर, अमरगढी नगरपालिकाले भने नगरकै सबैभन्दा स्तरीय कालोपत्रे गरिएको दाबी गरेको छ। नगरपालिकाका इन्जिनियर सुरेशबहादुर साउँदले उक्त घटाल चिम्रिकोट सडक निर्माणाधिन अवस्थामा रहेको बताएका छन्।
‘कुनै-कुनै ठाउँमा पानी जमेर, कुनै सामग्री खराबी आएर केही ठाउँमा त्यस्तो भएको हो,’ उनले भने, ‘निर्माणाधीन अवस्थामा रहेकोले पछाडि भएका कमी कमजोरीलाई सुधार गर्न लगाउनेछौं।’
यहीँ सडक खण्डको ३५० मिटर कालोपत्रे गर्न २०७७ असार ३० गते नगरपालिकाले राम कन्ट्रक्सनसँग ५४ लाख ९७ हजारमा ठेक्का सम्झौता गरेको थियो।
सो सडक पनि गुणस्तरहीन भएको भन्दै महालेखा परिक्षणको प्रतिवेदनले निर्माण कम्पनीलाई पुनः कार्य गराउन निर्दैशन दिन नगरलाई भनेको थियो। तर, हालसम्म पनि उक्त सडक पुनर्निर्माण भएको छैन। उता नगरपालिकाले ठेकेदारको ८ लाख रूपैयाँ भुक्तानी नदिएको बताएको छ।