बैतडीको दशरथचन्द नगरपालिका–५ नौहाडमा जन्मेका महोनहरप्रसाद भट्टले प्रहरी अधिकृतको रुपमा सेवा सुरु गरेका थिए।
हाल प्रहरी नायब उपरीक्षक(डिएसपी) भइसकेका उनी अहिले डडेल्धुराको प्रहरी प्रमुख भएर कमाण्ड सम्हालिरहेका छन्। उनीसँग कैलाली, कञ्चनपुुर, विरगन्ज, पोखरा, चितवन काठमाडौं लगायतका जिल्लामा काम गरेको अनुभव छ। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) मा समेत काम गरेका उनी अपराध न्यूनिकरणको कार्यमा पोख्त छन्।
उनी जिल्लामा आएपछि लागुऔषध तथा मदिरा न्यूनिकरण, ट्राफिक नियम उल्लंघनका घटना र अपराध धेरै हदसम्म कम भएका छन्। डडेल्धुरामा १ वर्ष बिताइसकेका उनले विभिन्न अभियान नै थालेर जिल्लामा लागुऔषध सप्लायर्सको चेन तोडेका छन्।
त्यसैगरी मादक पदार्थ सेवन गरि सवारी हाँक्नेमाथि कडा निगरानी गरिएको हुँदा धेरैले डिएसपी भट्टलाई ‘सिंघम’को उपाधि दिएका छन्। त्यसो त उनी कैलालीको धनगढी उपमहानगरपालिकाको वडा प्रहरी कार्यालयमा रहदासमेत ‘ड्रगिस्ट’हरु उनको नामै सुनेर थरथर काप्ने गर्थे।
उनै डिएसपी मनोहरप्रसाद भट्टसँग महेन्द्रनगरपोष्टकर्मी आशिष मल्लले डडेल्धुराको शान्ति सुरक्षा अवस्था, प्रहरीले गरिरहेको काम लगायतका विषयमा कुराकानी गरेका छन्। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:
तपाईं जिल्लामा आउँदा सुरुमा के गर्नुभयो ?
म सुरुमा जिल्लामा आउँदा यहाँको शान्तिसुरक्षाको अवस्थाबारे बुझे। प्रहरीबाट जनताले के आशा गरेका छन् भनेर यहाँका सरोकारवालाहरुसँग बुझेको थिए। उहाँहरु सबैलाई प्रहरी कार्यालयमै डाकेर जिल्लाको बस्तुस्थिति बुझे। सबै पालिकाका वडाअध्यक्षसँग भेटेपछि मैले रणनीति बनाएको थिए।
डडेल्धुराको अवस्था के पाउनुभयो ? यहाँका मुख्य समस्या के–के हुन् ?
सबैसँग बुझ्दा सबैभन्दा बढी लागुुऔषध यहाँ मुख्य चुनौतीका रुपमा रहेको बुुझियो। लागुऔषधबाटै विभिन्न किसिमका समस्याहरु जस्तै घरेलु हिंसा, महिला हिंसा, चोरी, आत्महत्या र हत्या समेतका घटना निम्तिने गरेको देखियो। त्यस्तै विभिन्न अपराधको जन्म मदिराबाटै हुने गरेको देखिएपछि मैले मदिरा नियन्त्रण तथा व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्व्य गर्दै व्यापक रुपमा मदिरा नियन्त्रणको कार्यक्रम सुरु गरेँ।
त्यस्तै सडकमा हुने सवारी दुर्घटना न्युनिकरणका लागि सवारी नियम उल्लंघनकर्ताहरुलाई सम्झाउने, ठाँउठाँउमा कार्यक्रम गर्ने, व्यापक रुपमा चेकिङ्ग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने धेरैलाई नियन्त्रणमा लियौं भने धेरैलाई मुद्दा नै चलायौं।
त्यस्तै हाम्रो समाजमा अर्को समस्याका रुपमा देखिएको बालविवाह, बहुविवाह, लैंगिक हिंसा जस्ता समस्या अशिक्षा तथा चेतनाको अभावका कारण हुने गर्छन्। यी समस्या निराकरण गर्नका लागि सरोकारवालाहरुसँग समन्व्य गर्दै हामीले जिल्लाभरीमै चेनतामुलक कार्यक्रम गरेका छौं।
त्यसका लागि हामी वडा, पालिका र विद्यालयमा गयौं। उक्त कार्यक्रम अन्तरगत हामीले प्रशिक्षण, अन्तरक्रिया, भेटघाट, र्याली र माइकिङ्ग गरिएका छन्।
लागुऔषधको हकमा भने सुरुबाटै हामी एकदमै आक्रामक भएर लागेका छौं। हामी लागुऔषध ब्राउन सुगर र चरेश नियन्त्रणमा लाग्यौं। त्यस्तै गाँजाको बोेटहरु नष्ट गर्ने अभियानमा समेत प्रहरी लागेको छ।
लागुऔषध नियन्त्रणका लागि विद्यालयमै गएर चेनतामुलक कार्यक्रम गरेका छौं। त्यस्तै कुलतमा फसेका युवाहरुलाई अभिभावकसँग समन्व्य गरेर सुधार केन्द्रमा पठाउन सहजीकरण समेत हामीले गरेका छौं।
हामी हालसम्म पनि लागुऔषध तथा मदिरा नियन्त्रण गर्न, ट्राफिक नियम पालना गराउन र चेतनाको विकास गर्न चेतनामुलक कार्यक्रम निरन्तर गरिरहेका छौं।
त्यसैगरि साइबर अपराधका घटनासमेत यहाँ घटिरहेका छन्। किशोरकिशोरी भोगेका त्यस्ता घटनाका बारेमा विभिन्न समयमा गुनासो आउँछन्। हामीले त्यस्तो समस्या समाधानका लागि अभिभावकलाई बोलाएर सहजीकरण गर्ने गरेका छौं।
प्रहरीले आफ्नो कार्य गर्दा के समस्या तथा कठिनाई भोग्नुभयो ?
यहाँ लागुऔषध ‘ब्राउन सुगर’ भन्ने धेरैले नचिनेको देखियो। धेरै अभिभावकले आफ्ना बालबच्चा लागुऔषध सेवन गर्छन् भनेर पनि थाहा नपाएको अवस्था छ।
सुरुमा हामीले लागुुऔषध सेवनकर्ता र मादक पदार्थ सेवन गरि होहल्ला गर्ने परिपाटीलाई नियन्त्रण गर्ने क्रममा अभिभावकले नबुझेका कारण समस्या भयो। ‘मेरो छोरोले केही पनि खाँदैन, मेरो छोरो राम्रै छ, सोझो छ, मेरो छोरो कुलतमा फसेको छैन, प्रहरीले यत्तिकै समायो’ भन्ने किसिमको प्रश्न आएका थिए। पछि हामीले उहाँहरुलाई ‘तपाईहरुकै छोराछोरीलाई सम्झाउन, राम्रो बनाउन र सुधार्नलाई हामी लागिपरेका छौं’ भनेर सम्झाईबुझाईं गर्दा अहिले त्यो समस्या आएको छैन।
सुरुमा यहाँ आउने बित्तिकै चरेश प्रयोगको बारेमा जानकारी दिइएको थियो। विद्यार्थीहरु चरेश सेवन गर्छन्, गाँउमा बालबच्चाकै अगाडी आमाबुवाले चरेश सेवन गर्छन् भनेर सबेले भनेका थिए। तर, खैरो हेरोइन(ब्राउन सुगर) को बारेमा धेरैलाई जानकारी नभएको अवस्था थियो।
म आएको दोस्रो दिन होटलमा चेकजाँच गर्ने बेला शंकास्पद रुपमा बसिरहेका युवाहरुलाई हामीले भेटायौं। उनीहरुको साथबाट ब्राउन सुगर नै भेटियो।
त्यसपछि हामीले तुरुन्तै यहाँ ल्याएर अनुसन्धान गरेका थियौं। तर, उहाँहरुका अभिभावक आएर ‘मेरो सन्तान केही पनि गर्दैन, चरेश खाँदैन, चुरोट पनि खाँदैन, खैनी–गुट्कासमेत खाँदैन, प्रहरी यत्तिकै माटो जस्तो चिज देखाएर थुन्यो’ भनेर आउनुभएको थियो। प्रहरी कार्यालयको गेटमा हुल नै जम्मा भएको थियो।
त्यसपछि उहाँहरुलाई मैले, ‘यो ब्राउन सुगर हो, यसले तपाईंका सन्तानको मस्तिष्क बिगार्छ, परिवारमा विखण्डन हुन्छ, धनको नास हुन्छ, स्वास्थ्य खराब हुन्छ र मृत्युको मुखसम्म जान्छ’ भनेर काउन्सिलिङ गरेपछि बल्ल उहाँहरुले बुझ्नुभयो। त्यसपछि उहाँहरुले ब्राउन सुगरको हकमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।
अहिले गाँजालाई वैधानिक बनाउनुपर्ने आवाज उठिरहेको छ, नेपालमा गाँजा खुल्ला गर्दा के हुन्छ ?
गाँजामा औषधिय गुण हुन्छ भनेर कुरा आएको छ। तर, अहिले नेपालको सन्दर्भमा चेतनाको विकास भइसकेको छैन। त्यसैले यो एकदमै खुल्ला गर्दा यहाँका बच्चाहरु बिग्रिने सम्भावना बढी देखेको छुँ।
अहिले पनि आम नागरिकले आफ्ना समस्याका बारेमा खुलेर प्रहरीलाई भन्न सक्दैनन्। न्यायमा पहुँच दिलाउन तपाईले गर्नुभएका प्रयास के छन् ?
हामीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएका छौं। हामीले सबै स्थानीय तहका ५२ वडा र अधिकत्म विद्यालयमा गएर प्रहरीको काम, कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी गराउँदै आएका छौं।
यदी कसैले पनि कुनै किसिमका घटना, दुर्घटना, अपराध र समस्या भोग्नु अथवा देख्नुभएको छ भने मेरो नम्बर ९८५८७१५५५५ मा फोन गरिदिनुुस्। त्यस्तै हामीले जिल्लाभरी ८० स्थानमा उजुरी पेटीका राखेका छौं। घटना अथवा कुनै अपराधका बारेमा आफ्नो नाम नलेखेरै नागरिकले जानकारी गराउन सक्नेछन्।
अहिले यहि कारणले विगतमा भन्दा महिला तथा घरेलु हिंसा र लागुऔषधका बारेमा एकदमै सूचना आइरहेका छन्।
अन्तमा, लागुऔषधको दुव्र्यसनीमा फसेका युवाहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
लागुऔषधको कुलतमा फसेका युवाहरुले दृढ संकल्प लिएर विस्तारै त्यसको लतलाई घटाउँदै जानुपर्छ। लगुऔषधको सेवनबाट जटिल रोग लाग्ने सम्भावना हुन्छ। यतिमात्रै नभएर त्यसको कुलतले घरपरिवार र समाजमै समस्या आउँछ। त्यसकारण कुलत छुटाउन सुधार केन्द्रको सहायता पनि लिनुपर्छ।
अर्को कुलतमा नलागेका युवाहरुलाई लहलहैमा नलागेर लागुऔषध गलत हो, यसले हाम्रो शरीर, समाज तथा परिवार सबै विखण्डन गर्छ सोचेर त्यसको पछि नलाग्न सुझाव दिन चाहन्छु।