धनगढी : नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यले शनिबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार गर्ने भएका छन् ।
दिउँसो ३ बजे बोलाइएको बैठक अहिलेसम्म नबसेको भन्दै उनीहरुले बैठक बहिस्कारको घोषणा गरेका हुन् ।
३ बजे बैठक बस्ने सहमति भए पनि सरकार र सत्तापक्षका कारण समयमा बैठक सुरु नभएका कारण शनिबारको बैठक बहिस्कार गर्ने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिए ।
एमालेले सत्तारुढ दलहरुबीच निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने सहमतिको पनि विरोध जनाएको छ । सुदूरपश्चिममा एमालेका १० जना प्रदेशसभा सदस्य छन् ।
सुदूरपश्चिम प्रदेशमा शनिबार बजेट पारित गर्ने सरकारको तयारी छ । तर सारुढ गठबन्धनमै रहेका दलहरुले बजेटमा असन्तुष्टि राखेकाले शनिबार दिउँसो सत्ता गठबन्धनको बैठक र त्यसपछि गठबन्धनमा भएका सबै दलहरुको संसदीय दलको बैठक बसेका थिए । त्यसैले प्रदेशसभाको बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन ।
राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी विष्टले सरकारले आफूहरुलाई प्रदेशसभा बैठकमा धेरै समय कुराएकाले बैठकमा सहभागी नहुने बताइन् । स्वतन्त्र प्रदेशसभा सदस्य डा। तारा जोशीले पनि प्रदेशसभा बैठक बहिस्कार गर्ने बताएका छन् ।