धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश सभा छाडेर भर्खरै बाहिरिएका छन्। आज दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेट पारित गर्नका लागि प्रदेश सभा बैठक बोलाएको थियो।
पहिलोपटक ५ बजे सम्मको लागि र दोस्रो पटक ७ बजेको लागि बोलाइएको थियो। तर अहिलेसम्म बैठक बसेको छैन।
बैठक बस्न नसकेपछि मुख्यमन्त्री शाह प्रदेश सभाबाट भर्खरै बाहिरिएका हुन्। उनी अर्थमन्त्री नरेश शाही र नेकपा एकीकृत समाजवादीका दलका नेता दीर्घ सोडारीसँगै बाहिरिएका हुन्।
अर्थमन्त्री शाहीको गाडीमा तीनै जना हतारहतार बाहिरिएका थिए। मुख्यमन्त्री शाहले आफ्नो गाडी र स्कटिङ प्रदेश सभा बाहिर छोडेरै अर्थमन्त्रीसँग गएका हुन्। उनीहरु अचानक प्रस्थान गरेपछि मुख्यमन्त्रीको स्कटिङ सुरक्षा टोली अलमलमा परेर त्यहीँ रोकिएको छ। उनीहरु अचानक प्रदेश सभा छोडेर बाहिरिएपछि स्कटिङ हेरेको हेर्यै बनेको थियो।