काठमाडौं – नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना (तिम्सिना)ले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्न आग्रह गरेकी छन् ।
सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् ।
कायममुकायम गभर्नर ढुंगानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको उनको भनाइ छ ।
‘समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुद नेपालको कुल जनसंख्याको १८ प्रतिशत हिस्सा अझै पनि गरिवीको रेखामुनि रहेको छ ।
अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरूले गरिवी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ,’ कायममुकायम गभर्नर ढुंगानाले भनिन्, ‘लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरउत्थान गर्न लैंगिक हिंसा र महिला शशक्तिकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मदत गदै आएको छ ।
लघुवित्तले वित्तीय पहुँचबाट बञ्चित भएका समुदायलाई वित्तीय पुहँच पुर्याएर स्वरोजगार बनाएको छ । अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित्त संस्थाहरुमा पनि तरलताको चाप परेको छ । ब्याजदरको समेत समस्या रहेको छ । अहिले लघुवित्तले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको छ । सधैंभरी सहज परिस्थिती हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चय नै स्थिति सुधार हुन्छ ।’
उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन् । नेपालको गरिवी निवारण तथा वित्तीय पहुँचभन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित्त संस्थाहरू प्रभावकारी साधन भएको कायममुकायम गभर्नर ढुंगानाको भनाइ छ ।