धनगढीः धनगढीको फुलबारी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बस्नेतले ज्यानको धम्की दिएको आरोप लागेको छ। अध्यक्ष बस्नेत र निर्माण व्यवसायी दुर्गाप्रसाद अधिकारीले क्याम्पस व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पाण्डेलाई धम्की दिएको आरोप लागेको हो।
पाण्डेले क्याम्पसको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आशंकामा असहमती जनाउदै विरोध गर्दा उल्टै ज्यान सम्बन्धी धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुुरक्षाको माग गर्दै निवेदन दिएका छन्। पाण्डेले उनीहरुले आफु र आफ्नो परिवारका सदस्यलाई सिध्याइदिने धम्की दिएकोले कारवाहीको माग गरेका छन्।
‘अध्यक्ष बस्नेतले मलाई असार २७ गते फोन गरेर क्याम्पसको विषयमा धेरै चासो दिइस् र असहमतीको निर्णय फिर्ता लिइनस् भने तिम्रो बालबच्चा र तिमीलाई एक हप्ताभित्र गायब पारिदिन्छु भनेर धम्की दिए,’ पाण्डेले भने। निर्माण व्यवसायी दुर्गा अधिकारीले पनि अब तिमीहरुको पालो सकियो भन्दै धम्क्याएको उनको आरोप छ।
तर क्याम्पसका अध्यक्ष बस्नेतले भने पाण्डेलाई कुनै पनि धम्की नदिएको दाबी गर्दै आरोप कपोकल्पीत र निराधार भएको दाबी गरे। अर्का निर्माण व्यवसायी दुर्गाप्रसाद अधिकारीले पनि आफुले कसैलाई पनि धम्की नदिएको दाबी गरे।
फुलबारी बहुमुखी क्याम्पसमा प्रदेशको सामाजिक विकास मन्त्रालयको ४४ लाख बजेटमा निर्माण भएको भवनमा स्टमेटअनुसार काम नभएको र अनियमितता गरिएको भन्दै क्याम्पस व्यवस्थापन समिति नै विभाजित भएको छ। सोही विवादका कारण अहिले क्याम्पसको खाता रोक्का गरिएको छ।