कैलाली: सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना आधाले घटेको छ। तीनवर्षको तथ्यांक हेर्दा सवारी दुर्घटना घटेको पाइएको छ।
गत आर्थिक वर्ष २०७९/०८० मा यहाँ २४९ सवारी दुर्घटना भएका छन्। यो अघिल्लो वर्ष २०७८/०७९ भन्दा आधा भन्दा कम रहेको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा यहाँ ५०१ सवारी दुर्घटना भएकोमा गत आव २०७९/०८० मा घटेर २४९ पुगेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक (एसपी) नेत्रमण गिरीले जानकारी दिए। यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा भएका थिए।
सवारी दुर्घटना कमी भएसंगै अंगभंग र मृत्यु हुनेको संख्या पनि घटेको छ।
गत आर्थिक वर्ष २०७९/०८० मा यहाँ दुईसय ४९ सवारी दुर्घटनामा परेर १७७ जनाको मृत्यु भएको छ भने ४६३ घाइते भएका छन्।
आर्थिक वर्ष २०७८/०७९ मा पाँचसय एक सवारी दुर्घटनामा एकसय ९६ जना ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ५५८ सवारी दुर्घटनामा एकसय ८६ जनाको मृत्यु भएको छ।
ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी उपरिक्षक (एसपी) गिरीले दाबी गरे।
गत आवमा प्रदेशभरी चार हजार ६३ जनचेतनामस्लक कार्यक्रम सञ्चालन गरिएका छन्। जुन अघिल्लो वर्षको तुलनामा तीन हजारले बढी रहेको छ। अघिल्लो आवमा एक हजार मात्रै जनचेतनामूलक कार्यक्रम गरिएका प्र्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यस्तै सुदूरपश्चिम प्रदेशमा एक वर्षमा करिब साढे ६ करोड रुपैयाँ सवारी कारबाहीबाट राजस्व संकलन भएको छ। प्रदेश ट्राफिक कार्यालयका प्रमुख गिरीका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा सवारी कारवाहीबाट ६ करोड ४२ लाख १२ हजार राजस्व संकलन भएको छ।
यो आर्थिक वर्ष २०७८/०७९ भन्दा एक करोडले बढी हो। सो वर्ष पाँच करोड ४१ लाख ९४ हजार राजस्व संकलन भएको थियो।