काठमाडौं: डडेल्धुराका योगेश शाही र काठमाडौँका सुमन लामिछाने। काठमाडौँमै बसेर उनीहरुले सामाजिक संजालबाट फसाएर लुट्ने योजना बनाए।
२०७९ साल जेठ दोस्रो सातातिरको कुरा हो। उनीहरुले ‘रोयल बैंक’का सिइओ ‘बायो’ राखेर नक्कल फेसबुक खाता बनाए। त्यसपछि काठमाडौँकी अन्जना ठकुरीको फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइयो।
सामान्य कुराकानी पछि अन्जानालाई एउटा अफर दिइयो। त्यो अफर थियो, एकजना मृतकको बैंकको खातामा भएको ७८ मिलियन डलर हाल्ने। नेपाली करिब १० अर्ब २२ करोड ८६ लाख ९७ हजार २३२ रुपैयाँ पाइने भएपछि अन्जना खुसी भइन्। श्रीमान भीमबहादुर ठकुरीलाई भनिन्।
बैंकका सिइओले एक जना नेपालीमूलका एलेक्स राणाको नाममा रहेको बैंक खातामा ७८ मिलियन डलर रहेको जानकारी बताए। सिइओकाअनुसार ती सुनखानीका मालिक थिए। कोभिडका बेला उनको मृत्यु भयो। तर, बैंक खातामा ‘इच्छ्याइएको व्यक्ति’ भनेर कसैको पनि नाम राखिएको छैन। नाता प्रमाणित गरेर दाबी गर्नसक्ने हो भने त्यो ७८ मिलियन डलर अन्जनाले पाउनेछिन्।
बैंकका सिइओको अफर सुनेपछि ठकुरी दम्पती लोपिए। उनीहरुले बैंकका सिइओले खोजिदिएको वकिललाई भेटे र सबै कागजात बनाउन लागे।
उनीहरुले वकिलले भनेजस्तै विभिन्न समयमा आफुसँग भएको ९३ लाख विभिन्न खातामा जम्मा गरे तर ७८ मिलियन डलर आएन। ठकुरी दम्पतीले शंका खायो र नेपाल प्रहरीको साइबर ब्यूरोमा गयो।
उनीहरूले २०७९ जेठ ३० देखि गत फागुनसम्ममा १९ पटक गरी ती वकिलको खातामा ९३ लाख हालिसकेका थिए। फागुन २५ गते नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेका उनीहरूलाई प्रहरीले उक्त सिइओको खाता नक्कली रहेको बतायो। ठकुरी दम्पती छांगाबाट खसे जस्तै भए।
बैंकका सिइओ र वकिल पनि नक्कली भएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। त्यसपछि अन्जना दम्पतीलाई झुक्याउँदै पैसा लुट्ने डडेल्धुराका योगेश शाही र काठमाडौँका सुमन लामिछाने पक्राउ परे।
शाही र लामिछानेलाई ब्युरोले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।ब्युरोकाअनुसार यो गिरोहमा अरु व्यक्ति पनि संलग्न छन्। उनका सहयोगीलाई पनि खोजिरहेको प्रहरीले बताएको छ।