काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय क्विन्टल सुन बरामद भएको छ। मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन ट्याक्सीमा लैजान लाग्दा राजस्व अनुसन्धान विभागले बरामद गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट उक्त सुन व्यवसायी दीपक मलहोत्राको भएको खुलेको छ। तर, सुन उनकै हो भन्ने पुष्टि गर्दै प्रहरी अधिकारीहरु बोलेका छैनन्।
प्रहरी अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्। बरामद सुनको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो ।
विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेका हुन्। रामकुमार दिलीपका मामा हुन्।
क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले अप्रेसन चलाएको हो ।
भन्सार जाँचपासबाट बाहिरिएको सुन भएकाले भन्सारका कर्मचारीमाथि पनि अनुसन्धान भइरहेको छ।