काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रबारे गलत प्रचार गरिएको बताए । उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए ।
उनले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको भन्दै उनले भने, ‘मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक नभएको बताए ।
यस्तै उनले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताएका छन् । उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताए ।
छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे । गत विहीबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।
छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको उनले बताए । निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ ।