धनगढी: अछाममा एक लेखाका हाकिमले फट्याइँ गरेको पाइएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारदप्रसाद खनालले फट्याइँ गरेको आरोप लागेको हो।
स्रोतका अनुसार उनीमाथि विभिन्न आर्थिक सेटिङका साथै कमिसनको समेत आरोप लागेको छ। जसमा हालै उनले ५० हजार अनुदानका लागि छनोट भएका पालिकाका २६ जना कृषकहरुलाई शिर्षकमा हुदै नभएको बजेट १३ लाख थप गरि भुक्तानी गरेको आरोप लागेको छ।
उनले सबैलाई १ लाखका दरले थप रकम प्रदान गरेको आरोप लागेको हो। यस्तै लेखा अधिकृत खनालले गाउँ सभा पनि छलेको आरोप थपिएको छ। खनालले गत आर्थिक वर्षको असार मसान्तमा सेवा प्रवाह गर्न छोडेर असार १६ गतेको परिक्षाका लागि भन्दै ८ गते नै बिना जानकारी कार्यालय छोडेको बताइएको छ।
जसका कारण असार मसान्तमा बजेटको सुनिश्चितता भएका र समयमै पेश भएका सर्वासधारणका फाइल यत्तिकै रोकिएका छन्। त्यहाँका हाकिम (प्रमुख प्रशासकिय अधिकृत) सँग पनि उनको कमिसन लेनदेन हुने भएकाले सेटिङ रहेको बताइएको छ। तर यो कुरा निरपेक्ष पुष्टि हुन भने सकेको छैन।
यस विषयमा खनालसँग बुझ्दा उनले आफू काठमाडौं गएको कुरा सही भएको तर अन्य आरोपहरु भने निराधार भएको दाबी गरे। उनले केही भुक्तानी असारको अन्तिम दिन सर्भरमा समस्या आएकाले रोकिएको तर अन्य सबै भुक्तानी भइसकेको बताए।
उनका अनुसार रोकिएका भुक्तानी मिलान हुनेछन्। यस्तै आफ्नो सामाजिक संजालमा गलत आरोप लगाएर चरित्रहत्या भएको समेत उनको ठहर छ।